मल्कबाङ्गको जनजागृति माविमा भवन निर्माण, विद्यालय पुनःनिर्माणमा समुदायको साथ

  • ८ बैशाख २०७५, शनिबार
  • 2345 पटक पढिएको

म्याग्दी, ६ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङ्गमा सरकारी बजेटमा लाखौँ रुपैयाँ थप गरि विद्यालय भवन पुनःनिर्माण गरिएको छ । पुनःनिर्माणको लागि जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको बजेट अपुग भएपछि स्वदेश तथा विदेशमा रहेका मल्कबाङ्गबासीले चन्दा संकलन गरि भवन निर्माणलाई पूर्णता दिएका हुन् ।

जिल्ला शिक्षा कार्यालयले भवन निर्माणको लागि उपलब्ध गराएको रु साढे १८ लाख बजेटमा समुदायले समेत १७ लाख बढी रकम जुटाएर भवन निर्माण गरिएको विद्यालयका शिक्षक एवम भवन निर्माण समितिका संयोजक यानदेवी छन्त्यालले बताउनुभयो । विद्यालयमा भवन निर्माणको लागि बजेट विनियोजन भएपनि उक्त बजेट प्रयाप्त नभएपछि सञ्चालन गरिएको आर्थिक संकलन अभियानबाट रु १७ लाख ६७ हजार ३७७ संकलन भएको छन्त्यालले बताउनुभयो ।

समुदायस्तरबाट संकलन भएको रकम मध्ये भवन निर्माणको लागि जग्गा सम्याउन ३ लाख ३५ हजार रुपैयाँ खर्च भएको थियो भने भवन निर्माणमा समेत साढे ६ लाख रुपैयाँ चन्दा संकलनबाटै लगानी गरिएको विद्यालयले जनाएको छ । त्यसैगरि भवन बनाउनको लागि आबश्यक पर्ने, ढुंगा काट्न र ढुवानीमा रु ५१ हजार रकम समेत समुदायस्तरबाटै जुटाईएको हो ।

दुर्गम गाउँमा तत्कालिन जिल्ला शिक्षा कार्यालयले प्रदान गरेको बजेटले भवन निर्माण सम्पन्न नहुने भएपछि प्रवासमा रहेका मल्कबाङ्गबासीले चन्दा सहयोग गर्न थालेका थिए । मल्कबाङ्ग समाज बेलायतको सक्रियता र मल्कबाङ्ग केन्द्रिय समाज पोखराको समन्वयमा विभिन्न मुलुकमा छरिएका मल्कबाङ्गबासीहरुबाट सहयोग संकलन गरिएको थियो ।

उक्त भवन निर्माण अभियानमा स्वदेश र गाउँमै रहेका स्थानीयबासीसंगै युके, अष्ट्रेलिया, जापान, कोरिया, अरब, मलेसिया लगायतका मुलुकमा रहेका मल्कबाङ्गबासीले सहयोग गरेका छन् । २०२१ सालमा स्थापना भएको यस विद्यालयमा २०५० सालदेखि माध्यमिक तहको पठनपाठन सुरु भएको थियो । अहिले यस विद्यालयमा २५० जना बालबालिकाहरु अध्ययनरत छन् ।

यसैबिच विद्यालयले समुदायकै चन्दा रकमबाट फर्निचर समेत व्यवस्थापन गरेको छ । जिल्ला शिक्षा कार्यालयले उपलब्ध गराएको रु १ लाख बजेटमा समुदायबाट थप रु २ लाख ६३ हजार ५ सय रकम थप गरि फर्निचरको बन्दोबस्त गरेको विद्यालयले जनाएको छ । विद्यालयमा नवनिर्मित भवनको आगामी बैशाख २६ गते उद्घाटन गर्ने तयारी गरिएको छ ।  प्रावि तहको लागि ३ कोट नवनिर्मित भवनलाई पाटेशन गरि ६ कोठे बनाएर पठनपाठन गरिएको छ भने अन्य कक्षाहरु जिर्ण अवस्थामा रहेकै पुरानो भवनबाट सञ्चालन हूँदै आएको छ । विद्यालयको भवन निर्माणमा सहयोग गर्ने दाताहरुको नामावली शिलालेखमा राखिने विद्यालयले जनाएको छ ।