दरवाङमा तार जडित टेलिफोन सेवा विस्तार

  • ८ बैशाख २०७५, शनिबार
  • सन्तोष गौतम
  • 2053 पटक पढिएको

म्याग्दी ८ बैशाख  जिल्ला सदरमुकाम बेनी देखि २४ किलोमिटर पश्चिममा अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा तार जडित टेलिफोन सेवा विस्तार भएको छ । सरकारी स्वामीत्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलीकमले मालिका गाउँपालिका ५ देविस्थानमा रिपीटर टावर स्थापना गरेर योङ्ग जेनेरेशन नेटवर्क (एनजिएन) प्रबिधिको टेलीफोन विस्तार गरेको हो ।

टेलिफोनसंगै एडीएसएल ईन्टरनेट चलाउन सकिने प्रबिधिको ११० लाईन टेलीफोन जडान गरिएको नेपाल टेलीकम म्याग्दी शाखाका प्रमुख बिष्णुदेव शाहले जानकारी दिनुभयो । तारजडित टेलीफोन सेवा विस्तार भएपछि म्याग्दीको दोस्रो ब्यापारिक केन्द्र दरवाङ बजारका बासिन्दालाई सुलभ रुपमा सूचना, सन्देश, समाचार आदानप्रदानमा सहज भएको छ ।

सार्वजनिक सेवा प्रवाह, ब्यापारीक गतिबिधी, बैकीङ सेवामा सहज भएको गाउपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । मालिका गाउपालिकाका जनप्रतिनिधिहरुले दरवाङ बजारमा तार जडित टेलीफोन सेवा विस्तारमा पहल गरेका थिए । नेपाल टेलिकमले यसअघि सदरमुकाम बेनीमा एक हजार २६१, पर्यटकीय स्थल घोडेपानीमा ३४ र गलेश्वरमा ५१ लाईन तारजडित टेलीफोन वितरण गरेको हो । एक लाख १३ हजार जनसंख्या रहेको म्याग्दीमा टेलिकमले २०७४ चैतसम्म ७२ हजार ५५७ वटा पोष्टपेड र प्रिपेड मोवाईल सिम वितरण गरेको छ ।

असी प्रतिशत जिल्लाबासीमा नेपाल टेलिकमको सञ्चार सेवाको पहुच पुगेको शाखा प्रमुख शाहले बताउनुभयो । म्याग्दीमा टेलीकमको २५ वटा मोवाईल बिटीएस, ५ वटा सिडीएमए र ४ वटा वाईम्याक्स टावर सञ्चालनमा छन् । यसै महिनाभित्र धौलागिरी गाउपालिकाको केन्द्र मुना, मंगला गाउपालिकाको झाक्रेपानी र बेनी नगरपालिका २ ज्यामरुककोटमा तिन वटा नया बिटीएस टावर सञ्चालनको तयारी भएको छ ।

सन्तोष गौतम