कहिल्य हुन्छ म्याग्दीमा विद्युत ट्रिपीङको समाधान ?

  • ६ बैशाख २०७५, बिहीबार
  • 2332 पटक पढिएको

म्याग्दी ६ बैशाख । म्याग्दी उद्योग वाणिज्य संघले विद्युत ट्रिपीङका कारण उत्पन्न अनियमित विद्युत आपुर्तीको समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रसंग माग गरेको छ । संघका अध्यक्ष उत्तम कर्माचार्य, दितृय उपाध्यक्ष राजेश शाक्य, पुर्व अध्यक्ष कुबिर श्रेष्ठ लगायतको टोलीले बिहीबार केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेलाई ध्यानाकर्षणपत्र बुझाउदै विगत एक दशकदेखिको अनियमित विद्युत आपुर्तीको समस्या समाधानका लागि गम्भिर भएर पहल गर्न माग गरेको हो ।

पूर्व जानकारी बिना दैनिक ४० देखि पचास पटकसम्म विद्युत जाने आउने गर्दा उद्योग, ब्यवसाय, सार्वजनीक सेवा प्रवाह, सञ्चार माध्यम देखि सर्वसाधारणको घरायसी कामकाज प्रभावीत बनेको अध्यक्ष कर्माचार्यले बताए । वि.स २०६७ देखि म्याग्दीबासीले अघोषित लोडसेडीङको मार खेप्दै आएको बताउँदै दितृय उपाध्यक्ष शाक्यले प्राधिकरणले समाधानका लागि ठोस कदम नचाले तालाबन्दि, धर्ना लगायतका आन्दोलनका कार्यक्रममा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।

केन्द्रका प्रमुख न्यौपानेले मोदी देखि धौलागिरी क्षेत्रका चार जिल्लाको प्रशारण र वितरण लाईन एउटै हुँदा हावाहुरी, पहिरोका कारणले कुनै ठाउँमा समस्या आउँदा सबै क्षेत्रमा असर पर्ने र मिलनचोक सब स्टेशनको ट्रान्सफर्मरको क्षमत्ता कम भएकाले ट्रिपीङको समस्या हुने गरेको बताए । प्रशारण र वितरण लाईन फरक फरक बनाउन लागिएको र सब स्टेशनमा ६०० केभीए क्षमत्ताको ट्रान्सफर्मर जडान गरेपछि ट्रिपिङको समस्या समाधान हुने न्यौपानेले बताए ।