लायन्स क्लबको अधिबेशन : रोकाको पक्षमा खुले अधिकांश क्लब र लिडरहरु

  • ६ बैशाख २०७५, बिहीबार
  • 1761 पटक पढिएको

पोखरा, ६ वैशाख । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको छैटौं अधिवेशन मिति नजिकिएसँगै प्रतिस्पर्धीहरुले चुनावी अभियानलाई तिब्र बनाएका छन् । वैशाख ७ र ८ गते पोखराको सभागृहमा अधिवेशन हुँदैछ । अधिवेशनमा द्वितीय गभर्नरमा उम्मेदवारी दिएका डिष्ट्रिक्टका बर्तमान चिफ एडभाइजर मन बहादुर रोकाको पक्षमा पोखराका अधिकांश क्लब तथा लायन लिडरहरु खुलेका छन् । डिष्ट्रिक्टको ६२ सदस्यीय एडभाइजरी काउन्सिल सदस्यहरु मध्ये रोकाको पक्षमा ५६ जनाले रोकालाई खुलेर समर्थन गरेका छन् ।

२ जना तटस्थ छन् भने ४ जना मात्रले अर्का प्रतिस्पर्धी मणिश्री रत्न बज्राचार्यको पक्षमा खुलेको देखिएको छ । डिष्ट्रिक्टमा लायन वर्ष २०१७/१८ मा चिफ एडभाइजर भएर काम गरेका रोकालाई द्वितीय गभर्नरमा जिताउन डिष्ट्रिक्टका ४० जना रिजन चियरपर्सन मध्ये करिब ३८ जनाले समर्थन गरेका छन् । ८२ जना जोन चियरपर्सन मध्ये करिब ७५ जनाले आफूलाई समर्थन गरेको रोकाले बताए । महाधिवेशनमा मताधिकार भएका डिष्ट्रिक्टका २ सय ८२ क्लब मध्ये करिब २ सय ५० वटा क्लबले खुलेरै आफूलाई समर्थन गरेको रोकाको दावी छ ।

डिष्ट्रिक्टको अधिवेशनमा ७ सय ३२ जनाले मतदान गर्दैछन् । मतदाता मध्ये अधिकांशले आफूलाई समर्थन जनाउने प्रतिबद्धता व्यक्त गरिसकेकोे रोकाको दावी छ । ‘म लामो समयदेखि लायन्स क्लब र सदस्यहरुका बीचमा रहेर सामाजिक काम गरिरहेको छु,’ उनले भने, ‘लायन्सहरुको क्षमता अभिबृद्धि र नेतृत्व विकासका लागि मैले अग्रस्थानमा रहेर क्लबहरुलाई साथ दिइरहेको छु ।’ रोका सन् २००३ देखि निरन्तर लायन्समा सक्रिय भइरहेका छन् । सन् २००८ मा लायन्स क्लब अफ काठमाडौं सामाखुसीको अध्यक्ष हुँदै त्यसपछि निरन्तर डिष्ट्रिक्टका विभिन्न जिम्मेवारीलाई कुशलतापूर्वक उनले बहन गर्दै आइरहेका छन् ।

डिष्ट्रिक्ट गभर्नरले वर्षेनी अगाडि सारेका कार्यक्रमलाई संंस्थागत कार्यक्रम हुन भनेर अग्रपंक्तिमा रही साथ दिदै आएका रोका सन् २०१८/१९ का लागि द्वितीय गभर्नरको उम्मेदवार बनेर अगाडि बढेका हुन् । लायन्समा लागेर प्राप्त गरिने उत्कृष्ट अवार्डहरु प्राप्त गर्न सफल रोकाले सन् २००८ मा लायन अफ दि इयर अवार्ड प्राप्त गरेका थिए । २०१२ मा बेस्ट रिजन अफ दि इयर अवार्ड, ८ वटा भन्दा बढी इन्टरनेशनल प्रेसिडेन्ट सर्टिफिकेट अवार्ड, इन्टरनेशनल प्रेसिडेन्टियल मेडल अवार्ड २००८, इन्टरनेशनल लिडरसिप मेडल २०१६ लगायतका थुप्रै अवार्ड रोकाले प्राप्त गरेका छन् ।