धौलागिरि गाउँपालिकाको गाउँसभाबाट ७ विद्येयक पारित

  • ५ बैशाख २०७५, बुधबार
  • कमल खत्री
  • 1899 पटक पढिएको

म्याग्दी, ५ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिकाको गाउँ सभाबाट विभिन्न ७ वटा विद्येयकहरु स्विकृत भएको छ । बुधवार बसेको गाउँसभामा गाउँपालिका प्रमुख थमसरा पुनले प्रस्तुत गर्नुभएको विद्येयकहरुमा छलफल गरि सर्वसम्मत रुपमा पारित गरिएको हो ।

गाउँ सभामा प्रस्तुत भएका शिक्षा विद्येयक , सहकारी विद्येयक, कृषि व्यवसाय तथा प्रवद्र्धन गर्न बनेको विद्येयक , न्यायिक समितिले उजुरी र कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक , प्रशासकिय कार्यविधि नियमित गर्न बनेको विद्येयक, स्थानीय स्वास्थ्य तथा सरसफाई व्यवस्था गर्न बनेको विद्येयक र आर्थिक कार्यविधि नियमित गर्न बनेको विद्येयक –२०७५ स्विकृत भएको गाउँपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

गाउँसभाबाट स्वीकृत भएका विद्येयकहरु ऐनको रुपमा कार्यान्वयनमा जाने गाउँपालिको जनाएको छ । बुधवारको गाउँसभाले गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा रहने न्यायीक समितिलाई पनि पूर्णता दिएको छ । गाउँपालिका उपाध्यक्ष रेशम छन्तयालको संयोजकत्वमा गाउँसभा सदस्य लोकबहादुर पुन र सुवादेवी पुर्जा सदस्य रहेको तीन सदस्यीय न्यायीक समिति गठन गरिएको प्रवक्ता छन्त्यालले जानकारी दिनुभयो ।

गाउँपालिकाको केन्द्र रहेको मुनामा बसेको गाउँसभामा विद्यायन समितिका संयोजक एवम प्रवत्ता झक बहादुर छन्त्याल र विद्यायन समितिका सदस्य देउप्रसाद छन्तयाले प्रस्ताब गर्नुभएको बिशेष सार्वजनिक महत्वको प्रस्ताब उपर समेत निर्णय गरेको छ । अबैध यार्सागुम्बा निकासी निवारणमा सघन निगरानी गर्ने र स्थानीय निकासी कर निर्धारण गर्ने निर्णय गरेको हो । गाउँपालिका भित्रबाट निकासी हुने यार्सागुम्बमा प्रतिकिलो रु ५ हजार निकासी कर लिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै सो बैठकले भैपरि आउने चालु शिर्षकबाट पुँजीगत र चालु खर्च अन्र्तगतका विभिन्न शिर्षकमा रकमान्तर गरियोस भन्ने प्रस्ताब समेत स्विकृत गरेको छ । ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l