रत्नेचौरमा प्रहरी बिटको भवन उद्घाटन

  • ५ बैशाख २०७५, बुधबार
  • सन्तोष गौतम
  • 1845 पटक पढिएको

रत्नेचौर ५ बैशख । बेनी नगरपालिका १ रत्नेचौरमा बुधबार प्रहरी बिटको भवन उद्घाटन गरिएको छ । साविकको रत्नेचौर गाविसको भवनलाई मर्मत गरेर प्रहरी बिटको कार्यालय स्थानान्तरण गरिएको हो ।

प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले प्रहरी बिटलाई चौकीमा स्तरोन्नती, दरबन्दि थपको लागि पहल गर्ने प्रतिवद्धता जनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सघाउन स्थानीयबासीलाई आग्रह गर्नुभयो । प्रजिअ कृष्णप्रसाद अधिकारीले समाजको विकृती, बिसंगति, बेथिती र गैरकानुनी कामको खुलेर बिरोध गर्दै त्यस्ता गतिबिधि गर्नेलाई कानुनको कथघरामा उभ्याउन समुदायको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले शान्ति सुरक्षाका लागि स्थानीय तहबाट सहयोगको अपेक्षा व्यक्त गर्दै वडा कार्यालय र समुदायले पोष्टको भवन व्यवस्थापनका लागि गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले छिमेकी बागलुङ जिल्लासंग जोडिएको रत्नेचौरमा ट्राफिक प्रहरी समेत खटाउन लागिएको बताउनुभयो । सो कार्यक्रममा प्रहरी पोष्टका ईञ्चार्ज हेमबहादुर बिसी लगायत प्रहरी कर्मचारीलाई नगद सहित पुरस्कृत गरिएको थियो ।

वडा कार्यालयले खेलाडीहरुलाई सम्मान गरेको थियो । वडा अध्यक्ष टेकबहादुर रावलको अध्यक्षता, भानु मावीका प्रअ भरत खत्रीको सञ्चालन र वडा सचिव रमेश पौडेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले समेत मन्तब्य व्यक्त गर्नुभएको थियो । वि.स २०७३ भदौमा स्थापना भएको प्रहरी बिट यसअघि आमा समूहको भवनबाट सञ्चालन हुदै आएको थियो । नगरपालिकाको एक लाख पचास हजार, ठुलो रानीबन सामुदायीक वन उपभोक्ता समूहको ४० हजार सहित स्थानीयबासी, संघ संस्था, सहकारी र व्यक्तिहरुको नगद तथा बस्तुगत सहयोगमा जिर्ण अवस्थामा रहेको भवनलाई मर्मत गरेर पोष्टको कार्यालय स्थान्तरण गरिएको हो ।

सन्तोष गौतम