काँग्रेसलाई बलियो बनाउन नेतृत्व सच्चिन जरुरीः नेता पौडेल

दुई कम्प्युनिष्ट पार्टी कुनै पनि हालतमा एक हुन नसक्ने दाबी

  • ५ बैशाख २०७५, बुधबार
  • 2590 पटक पढिएको

म्याग्दी, ५ वैशाख । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन नेतृत्व सच्चिन आबश्यक रहेको बताउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै नेता पौडेलले निर्वाचनमा पार्टीले व्यहोरेको हारबाट नेतृत्वले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो ।


तीनै तहको निर्वाचनमा नराम्रो हार व्यहोरेको काँग्रेसले वाम एकतालाई देखाएर गल्ती लुकाउन नहुने भन्दै नेता पौडेलले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तनको आबश्यकता औँल्याउनुभयो । पार्टीमा योगदान र क्षमताको पहिचान गर्न नसक्दा निर्वाचनमा अपत्यासित हार व्यहोर्नु परेको उल्लेख गर्दै नेता पौडेलले तत्लो तहबाटै हारको निर्मम समिक्षा गर्नुपर्ने बताउनुभयो ।


‘‘ निर्वाचनमा पार्टी पराजित भएको नैतिक जिम्मेवारी नेतृत्वले लिनुपर्छ, विगतमा कृष्णप्रसाद भट्टराई देखि गिरिजाप्रसाद कोइराला सम्मले त्यो नैतिकता देखाउनुभएको थियो, तर वर्तमान हाम्रा सभापति शेरबहादुर देउवा जी ले कुनै नैतिक जिम्मेवार लिनु भएन’’– नेता पौडेलले भन्नुभयो । नैतिकताको आधारमा नेतृत्व त्याग गरि नयाँलाई अवसर दिन सुझाब दिएपछि सभापती देउवाले सुनुवाई नगरेको उहाँको भनाई छ ।


निर्वाचनमा काँग्रेसले पराजित भए पनि काँग्रेसको सिद्धान्त र विचार विजय प्राप्त गरेको उहाँको दाबी थियो । नेता पौडेलले निर्वाचनमा मतदातालाई झुक्याउन एमाले र माओबादीले पार्टी एकताको नाटक मञ्चन गरेको भन्दैे दुई कम्प्युनिष्ट पार्टी कुनै पनि हालतमा एक हुन नसक्ने दाबी गर्नुभयो । निर्वाचनमा एउटै भयौँ भनेर भोट मागेपनि निर्वाचन सम्पन्न भएको ६ महिनासम्म पनि एकता नहुनुले उनीहरुले जनतालाई भोट तान्नको लागि मात्रै पार्टी एकताको नाटक गरेको आरोप लगाउनुभयो ।

कम्प्युनिष्टहरुले विगत देखि नै झुटको राजनीति मार्फत सत्यलाई छिपाउने प्रयास गरिरहेको भन्दै वरिष्ठ नेता पौडेलले इमानको राजनीति गर्ने भए पार्टी एकता गरेर पाँच बर्षसम्म ढुक्कले सत्ता सञ्चालन गर्न चेतावनी समेत दिनुभयो । नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य बृन्दा राणाले वर्तमान सरकारले श्वेतपत्र मार्फत देशबासीलाई निराशा मात्र बनाएको बताउनुभयो ।

नेपाली काँग्रेस म्याग्दीका सचिब एबम् नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रममा निवर्तमान सांसद रेशम बानियाँ, पूर्व सहसभापति नेत्र बहादुर महत, जिल्ला सदस्य एवम् पूर्व पार्टी सचिब माधब प्रसाद रेग्मी, गाउँ कार्य समितिका सभापतिहरुको तर्फबाट देविस्थान गाउँ कार्य समितिका सभापति एवम् प्रदेशसभाका उम्मेदवार बनेका क्या.अमलाल फगामी, महासमिति सदस्य एबम् अन्नपूर्ण गाउँपालिका प्रमुख क्या. डमबहादुर पुन, नेपाल महिला संघ म्याग्दीकी सभापति बिमला गौचन, महाधिवशेन प्रतिनिधी तथा तरुण दल म्याग्दीका सभापति मुकुन छन्त्याल लगायतले जिल्लाको समग्र अवस्था र समस्याबारे जानकारी गराउनुभएको थियो । सोही कार्यक्रममा नेपाली काँग्रेसको नवनिर्मित विपी स्मृति भवनलाई अमर मावि चिमखोलाका पूर्व प्रधानाध्यापक बम बहादुर विश्वकर्माले १० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्टीका सचिब क्या. मिनबहादुर कार्कीले गर्नुभएको थियो ।