जनप्रतिनिधिको आडमा संरक्षणको बाहनामा खोलाको अबैध दोहान रोकीएन्

  • ५ बैशाख २०७५, बुधबार
  • सन्तोष गौतम
  • 5507 पटक पढिएको

म्याग्दी ५ बैशाख । बेनी नगरपालीका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा सम्बन्धित निकायको अनुमती बिना नदीजन्य बस्तु चोरी निकासी रोकीएको छैन् । जिल्ला समन्वय समितिसंग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने नितीगत ब्यवस्था विपरीत स्थानीय सेभेनस्टार युवा कल्वका पदाधीकारीले बस्ती संरक्षणको बाहनामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गरेका हुन् ।

कानुन विपरीत एक्साभेटर प्रयोग गरेर नदीको दोहन गरेको भेटिएपछि एक्साभेटरको चावी नियन्त्रणमा लिएर प्राकृतिक स्रोत साधनको अबैध उत्खनन् र चोरी निकासी गरेको कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको प्रजिअ कृष्णप्रसाद अधिकारीले बताउनुभयो । प्रजिअ अधिकारी, प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माको टोलीले बुधबार बिहान अनुगमनका क्रममा एक्साभेटर प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गरेर बिक्री प्रयोजनका लागि ट्याक्टर मार्फत ढुवानी गरेको भेटिएको थियो ।

आनन्दबगरमा नदीजन्य पदार्थको उत्खनन् र निकासीका लागि कसैले पनी अनुमती नलिएको र सम्झौता विपरीत डोजर, ब्याकलोडरको प्रयोग गरेर उत्खनन् गर्नु अबैध काम भएको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताउनुभयो । एक हप्ताअघि प्रहरीले नदीजन्य पदार्थको अबैध उत्खनन्मा प्रयोग भएका उपकरण जफत गरेर जिससमा बुझाएपनी नितीगत अस्पष्टताको कारण देखाउदै राजनितिक दवावमा पुन उत्खनन् नगर्ने सहमती गराएर छाडेको थिए । कल्वका पदाधीकारीले नदीजन्य पदार्थको उत्खनन् गरेकोमा गल्ती स्विकार गर्दै अब उत्खनन् नगर्ने लिखित प्रतिवद्धता जनाएका थिए ।
नदीको धार र स्वरुप परिवर्तन हुने गरी डोजरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् गर्दा बस्ती संरक्षणको साटो जोखिम बढेको छ । आनन्दबगरमा खेलमैदान विस्तार र नदी कटान नियन्त्रणका लागि ढुङ्गा गिट्टी र बालुवा बेचेर आयस्रोत जुटाउन कल्वले सात लाख पचास हजार रुपैयामा ठेक्कामा दिएको सेभेनस्टार युवा कल्वका अध्यक्ष लालबहादुर थापा (माईकल)ले बताउनुभयो ।

नगरपालीका, समन्वय समिति, जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयमा पटक पटक योजनाको माग गरेपनि बजेट बिनियोजन नभएकाले बाध्य भएर नगरपालीकाका जनप्रतिनिधिहरुको सहमतीमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गरीएको थापाले दावी गर्नुभयो ।
कल्वका किसान जिसीले पछिल्लो पटक बिक्री गर्ने उद्देश्यले नभई पहिले उत्खनन् गर्दा परेको खाडल पुरेर नदीलाई पुरानै स्वरुपमा लैजाने र खेलमैदान फिलीङ गर्ने उद्देश्यले जिसस र नगर प्रमुखको निर्देशन अनुसार डोजर प्रयोग गरीएको बताउनुभयो ।

स्थानीयबासीको बिरोध र दवावका कारण चालु आर्थिक वर्षमा जिससले आनन्दबगरको नदीजन्य पदार्थको ठेक्का लगाएको थिएन् । गत माघमा बेनपा १ सारेमारे क्षेत्रमा नदीजन्य पदार्थको उत्खनन्मा प्रयोग भएका डोजर र टिपर प्रहरीले नियन्त्रणमा लिएर जिससलाई बुझाएको थियो । प्रहरीले अबैध र जथाभावी रुपमा नदीको दोहनमा प्रयोग भएका सवारी साधन र उपकरण नियन्त्रणमा लिएपनी कारबाही नभएकाले यस्तो गतिबिधि मौलाएको प्रनाउ खड्काको गुनासो छ । जिससले म्याग्दीमा नदीजन्य पदार्थको उत्खनन् र निकासीका लागि चालु आर्थिक वर्षमा साठी लाख रुपैयामा ठेक्का लगाएको छ ।

बेनपा ५ को बगुवाखोलाका क्रसर सञ्चालकले समेत सम्झौता विपरीत डोजर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन् गरेको स्थानीयबासीले गुनासो गरेका छन् । जिसस प्रमुख देवेन्द्र केसीले अहिलेकै अवस्थामा छोड्दा थप जोखिम हुने देखिएपछि बगरलाई सम्माउन निर्देशन दिएपनि नदीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकाल्नु र बिक्री गर्नु गलत भएको बताउनुभयो ।

सन्तोष गौतम