रघुगंगाका जनप्रतिनिधि र कर्मचारीलाई मौवाफाँटमा स्वागत एवम सम्मान

  • ४ बैशाख २०७५, मंगलवार
  • 2015 पटक पढिएको

म्याग्दी, ४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाका जनप्रतिनिधि एवम कर्मचारीहरुलाई गाउँपालिकाको केन्द्र मौवाफाँटका स्थानीयले स्वागत एवम सम्मान गरेका छन् । नयाँ बर्ष २०७५ सालको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा स्थानीय नागरिक समाज र पवित्र आमा समुहले मौवाफाँटमा जनप्रतिनिधिलाई सम्मान एवम कर्मचारीहरुलाई स्वागत गरेका हुन् ।

कार्यक्रममा स्थानीयबासीहरुले फुल, आला लगाएर स्वागत एवम् सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भव वहादुर भण्डारीले रघुगंगा गाउँपालिकालाई समृद्धि र विकसीत बनाउन गाउँपालिकाले योजनाबद्ध तवरले अगाडी बढ्ने तयारी गरेको बताउँदै हरेक विकास निर्माणमा सकरात्मक सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले गाउँपालिकाको केन्द्र अपायक परेका रघुगंगा पारिका जनताको लागि सकभर छुट्टै गाउँपालिका र त्यो सम्भव नभए स्वायक्त एवम विशेष संरक्षीत क्षेत्र घोषणा गरि राज्यका सेवा सुविधालाई सहज रुपमा उपलब्ध गराउन गाउँपालिका लागिपरेको बताउनुभयो ।

 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद चापागाईले गाउँपालिका सुरुवातको तवरणमा रहेको बताउँदै आबश्यक निति, निमय तर्जुमा गरि उपलब्धीमुलक योजनाहरुलाई कार्यान्वयनमा लैजानेमा जोड दिनुभयो । कार्यक्रममा रघुगंगा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष रिम कटुवाल र वडा नम्बर ६ का अध्यक्ष मनकुमार शेरपुञ्जाले गाउँपालिकाभित्र रहेको भौगोलिक विकटतालाई मध्यनजर गर्दै झिँ, पाखापानी र कुइने क्षेत्रका नागरिकहरुलाई वैकल्पिक व्यवस्थाको लागि गाउँपालिका मार्फत सामुहिक प्रयास गर्न आबश्यक रहेकोमा जोड दिँदै सबै वडाहरुमा विकासलाई दुत्र गति दिनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक टिका बहादुर शाही, ज्ञानोदय माविका प्रअ निलकण्ठ सुवेदी, शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल सुवेदी, सञ्चारकर्मीद्धय गोरखनाथ सुवेदी, कमल खत्री, स्थानीय मुकुन्द शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । पवित्र आमा समुहका अध्यक्ष कमला केसीको स्वागत रहेको कार्यक्रमको सञ्चालन हरि सुवेदीले गर्नुभएको थियो । सो अवसरमा नयाँ बर्षको शुभकामना समेत आदान प्रदान गरिएको थियो ।