अन्नपूर्ण गाउँपालिकामा मेलालाई व्यवस्थित बनाउन पहल

  • ४ बैशाख २०७५, मंगलवार
  • सन्तोष गौतम
  • 2320 पटक पढिएको


राम्चे ४ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा मंगलबार सार्वजनीक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका र वडा कार्यालयद्धारा चालु आर्थिक वर्षमा सञ्चालीत योजना तथा कार्यक्रमको कार्यान्वय, सार्वजनिक सेवा प्रवाहको अवस्था, नागरीकको गुनासो, सुझाव संकलन गर्ने उद्देश्यले वडा कार्याललयको आयोजनामा सुनवाई सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागि स्थानीयबासीहरुले गाउँपालिकाको केन्द्र टाढा भएकाले सेवा, सुबिधा लिन समस्या भएको, सडकमा यातायात सेवा सहज नभएको, स्वास्थ्य चौकिको भवन निर्माणमा ढिलाई भएको लगायतका गुनासो गरेका थिए । वडा अध्यक्ष खमबहादुर गर्बुजाले सहभागीको गुनासोको उत्तर दिदै चालु आर्थिक वर्षमा थोरै थोरै बजेटका धेरै योजना बनाउदाँ कार्यान्वयनमा समस्या भएको अनुभव सुनाउदै आगामी वर्ष यसतर्फ ध्यान दिने र वडामै योजना सम्झौता गर्ने व्यवस्था मिलाउने बताउनुभयो ।

उहाँले विभिन्न चाडपर्वको अवसरमा आयोजना हुने मेलाजात्रालाई व्यवस्थित र सुरक्षित गराउन गाउँपालिकाले गरेको निर्णयको राम्चेमा कार्यान्वयन भएको बताउनुभयो । अध्यक्ष गर्बुजाले हालै गाउँभेला गरे वडामा वर्षमा एउटा मात्र मेला आयोजना गर्ने निर्णय भएको बताउनुभयो । हप्तौ सम्म टोल टोलमा लाग्ने मेलाका कारण विद्यार्थीको पढाई प्रभावीत हुने, सामाजिक विकृती बढ्ने र सुरक्षा चुनौती बढेकाले व्यवस्थित रुपमा वर्षमा एउटा वडामा एक पटक मात्र मेला आयोजना गर्ने निर्णय भएको बताउनुभयो ।

सहभागीले उठाएको जिज्ञाशाको विषयमा वडा सदस्यहरु यामबहादुर गर्बुजा, गेममाया पुन, देबकुमारी खोरजा, एलीना रसाईली, वडा सचिव कृष्ण विश्वकर्मा, हिमाञ्चल माविका प्रअ तथा गाउँपालिका स्तरीय शिक्षक महासंघका अध्यक्ष रमन पुनले उत्तर दिनुभएको थियो । सो कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष पुनले अन्नपूर्ण गाउँपालिकाका ३७ वटै सामुदायीक विद्यालयमा नयाँ शैक्षिक सत्रदेखि पुर्व प्राथमिक र कक्षा १ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएको जानकारी गराउनुभयो । यसैगरी १० वटा माविमा ईन्टरनेटको माध्यमबाट अध्यापन (ईटिचीङ) गराउन गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले प्रतिवद्धता जनाउनुभएको जानकारी दिनुभयो ।

कार्यक्रममा वडाका जनप्रतिनिधिहरुले आफूले जनतासमक्ष गरेको प्रतिवद्धता पालनाप्रती सचेत रहेको बताउँदै पचास लाख रुपैया बजेट बिनियोजन भएको हिस्तान राम्चे सडक मर्मतको काम भैरहेको जानकारी गराउनुभएको थियो । यसैगरी आगामी वर्षको बजेटमा महिला, युवा, जनजाती, दलित समुदाय र कृषकहरुलाई समेट्ने र उनिहरुलाई विकास निर्माणमा परिचालन गरीने जनप्रतिनिधिहरुको भनाई थियो ।

वडा अध्यक्ष गर्बुजाको अध्यक्षता, सचिव विश्वकर्माको सञ्चालन, पत्रकार सन्तोष गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिससका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको समेत उपस्थिती रहेको थियो ।विभिन्न पर्वको अवसरमा आयोजना हुने मेलाजात्रालाई व्यवस्थित बनाउन पहल थालेको छ ।

सन्तोष गौतम