बेनी–कोरलामा १४ पक्की पुल बन्दै

  • ४ बैशाख २०७५, मंगलवार
  • गोपाल छन्त्याल
  • 2894 पटक पढिएको

म्याग्दी, ४ वैशाख । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडक सञ्जाललाई सहज बनाउन १४ वटा पक्की पुल निर्माण गरिने भएको छ । यी मध्ये ६ वटा निर्माणधिन अवस्थामा छन् भने ८ वटा टेण्डर, डिजाइन र सम्झौताको चरणमा रहेका छन् । अबको ३० महिनाभित्र सबै पुलको निर्माण सम्पन्न लक्ष्य सहित काम भइरहेको कालीगण्डकी करिडोर सडक आयोजना मुस्ताङका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । कालीगण्डकी करिडोर अन्र्तगत पर्ने १ सय ६९ किलोमिटर बेनी–जोमसोम–कोरला सडकको अहिले स्तरोन्नति कार्य भइरहेको छ ।

‘सडक स्तरोन्नतिसँगै पक्की पुल निर्माणलाई तीब्रता दिन थालेका हौँ’, आयोजनाका प्रमुख सुवेदीले भने, ‘अधिकाँश स्थानमा बेलिब्रिज छन्, त्यसलाई स्थानान्तरण गर्दै पुल निर्माण हुनेछन् ।’ आयोजनाका अनुसार, म्याग्दीको दानास्थित घट्टेखोलामा ५ करोड ७६ लाख रुपैयाँको लागतमा फेवा नयाँजाय जेभी, मुस्ताङको घासामा खहरेखोला माथि ५ करोड ९७ लाख रुपैयाँमा सिर्वा कन्ट्रक्शन, मार्फा र जोमसोमको बीचमा साढे १० करोड रुपैयाँमा मुक्तिनाथ श्री गिता जेभीले पुल निर्माण गरिरहेको छ । यी तीन वटाको निर्माण सम्झौता आगामी भदौमा सकिदैछ । त्यस्तै, कागबेनी खोलामा २ करोड ८८ लाख रुपैयाँ लागतमा गल्फा एण्ड रेविना जेभी र लोप्रा पाण्डखोलामा लोकप्रिय शंकरमनी जभीले ३ करोड ९ लाख रुपैयाँमा ठेक्का लिएको छ ।

तर, गत असार र माघ महिनामै सम्पन्न हुनुपर्ने उक्त दुई पुलको निर्माण कार्य भने सन्तोष छैन । ‘लोप्रा पाण्डखोलाको निर्माण कार्य लगभग सकिएको छ, तैपनि हस्तान्तरण भएको छैन, दुबैले जरिवाना तिरेर काम गरिरहेका छन्’, आयोजना प्रमुख सुवेदीले भने । सडक विभाग अन्र्तगत पुल सेक्टर नं ३ पाल्पाले म्याग्दीको तिब्ल्याङ र पोखरेबगरमा कालीगण्डकी माथि पुल निर्माणको जिम्मा लिएको छ ।
दुबै स्थानमा बेलिब्रिजलाई विस्थापित गरिनेछ । तिब्ल्याङमा निर्माण कार्य तीब्र रहेपनि पोखरबेगरमा भने सुरु भएको छैन । गलेश्वरस्थित राहुघाट खोलाको ठेक्का भने कालिका गजुरमुखी जेभीले लिएको छ ।

गजुरमुखीले तातोपानीदेखि कोबाङसम्म ३८ किलोमिटर सडक स्तरोन्नतिको कार्य पनि गरिरहेको छ । आयोजनाले मुस्ताङको चराङखोला, घमीखोला, छुसाङखोला र ढुँगाखोलाका लागि एकहप्ता अघि टेण्डर आब्हान गरेको छ । बुहबर्षीय टेण्डर स्वीकृत भएपछि चालु आबलाई ५०/५० रुपैयाँ बजेट प्राप्त भएको आयोजनाले जनाएको छ । नेपाली सेनाले ट्रयाक खोलेको ७६ किलोमिटर बेनी–जोमसोम खण्डमा गलेश्वर, तिब्ल्याङ, पोखरेबगर, स्याङ, खहरेखोलामा बेलिब्रिज जडान गरिएको थियो । तर, मर्मतसम्भारको अभावमा बेलिव्रिजहरु जीर्ण भएका छन् ।
‘रुप्सेखोला र बेगखोलाको पनि हामी डिजाईन तयार पार्दैछौँ, यो केहि समयपछि मात्रै टेण्डर प्रक्रियामा जान्छ’, आयोजनाका प्रमुख सुवेदीले भने, ‘भौगोलिक बनोटका कारण बेगखोलामा अलि बढी जटिलता देखिएको छ ।’

प्रभावित क्षेत्रका स्थानीय, यात्रु तथा यातायात व्यवसायीहरुले भने जोखिमपूर्ण बेलिब्रिजको स्थानान्तरण तत्काल हुनुपर्ने माग गरेका छन् । अन्नपूर्ण गाउँपालिका प्रमुख क्या. डमबहादुर पुनले गलेश्वर, तिब्ल्याङ, पोखरेबगरमा रहेको बेलिब्रिज जीर्ण हुँदा दुर्घटनाको जोखिम रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । ‘मोटरसाइकललाई बढी जोखिम छ, ठुल्ठुलो प्वाल देखिन्छ’, उनले भने, ‘पहिला यसमा ध्यान दिनुप¥यो ।’

गोपाल छन्त्याल