सञ्चारमाध्यमको विकासमा अन्नपूर्ण गाउँपालिकाको साथ

  • ४ बैशाख २०७५, मंगलवार
  • 2681 पटक पढिएको

म्याग्दी, ४ वैशाख । अन्नपूर्ण गाउँपालिकाले म्याग्दीको सञ्चारमाध्यमको संस्थागत विकास र सवलीकरणका लागि स्रोत व्यवस्थापनको प्रतिबद्धता जनाएको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा म्याग्दी मिडिया सोसाइटीका पदाधिकारीसँगको अन्तरसंवादमा गाउँपालिकाले सञ्चारमाध्यमको विकास बिना समुदायले सहि सूचना पाउन नसक्ने भन्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सोसाइटीले म्याग्दीका ६ वटै स्थानीय तहमा जिल्लामा रहेका छापा, विद्युतीय र अनलाइनको संस्थागत विकासका लागि स्रोतको व्यवस्थापन गर्न माग गर्दै अन्तरसंवाद र ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्र्तगत सोमबार अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्या. डमबहादुर पुन, उपाध्यक्ष केशमायाँ मगर, प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहाल र प्रवक्ता कृष्णबहादुर बरुवालसँग जिल्लाको सञ्चारमाध्यमका अवस्थाबारे छलफल गरेको हो ।

छलफल कार्यक्रममा ज्ञापनपत्र बुझाउँदै सोसाइटीका अध्यक्ष गोपाल छन्त्यालले जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यमहरु श्रमजीवि पत्रकारहरुकै लगानीमा सञ्चालन भएकोले त्यसको दीगोपनाका लागि स्थानीय तहले सहयोग गर्नुपर्ने बताए । एक नगरपालिका सहित पाँच वटै गाउँपालिकामा ज्ञापनपत्र र अन्तरसंवाद कार्यक्रम सम्पन्न गरिएको भन्दै उनले स्रोतहरु स्थानीय तहमा हस्तान्तरण भएकाले सञ्चारमाध्यमको विकासको भूमिका पनि ती तहहरुको हुने बताए ।

कार्यक्रममा सोसाइटीका कोषाध्यक्ष ठाकुर प्रसाद आचार्य, सदस्य सन्तोष गौतम र राकेश शर्माको सहभागिता थियो । सोसाइटीको ज्ञापनपत्र बुझ्दै गाउँपालिकाका प्रमुख क्या. पुनले सञ्चारमाध्यम र सञ्चारकर्मीको विकासका लागि गाउँपालिकाले बजेट विनीयोजनमा कन्जुस्याँई नगर्ने बताए । चालु आबमा विभिन्न स्रोतबाट संस्थागत सहयोग गर्ने भन्दै उनले आगामी आब देखि बजेटमै उल्लेख गरेर सहयोगको प्रतिबद्धता उनले जनाए । सोसाइटीले संस्थागत बजेट मार्फत एकद्धार विज्ञापन प्रणाली र सार्वजनिक सरोकारका विषयलाई समानुपातिक हिसाबले सूचना प्रवाह गर्ने व्यवस्था मिलाउन जनाएको छ ।