ओमकुमारी शान्ति कोषलाई मोना जापानद्धारा रु ५ लाख १३ हजार सहयोग हस्तान्तरण

  • ३ बैशाख २०७५, सोमबार
  • धिरन खत्री
  • 2231 पटक पढिएको

म्याग्दी, ३ वैशाख । म्याग्दीमा क्रियाशिल रहेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अक्षयकोष स्थापना गर्ने अभियानमा जापानमा रहेका म्याग्देलीहरुले रु ५ लाख बढी सहयोग गरेका छन् । जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानद्धारा संकलित नगद रु ५ लाख १३ हजार ४०० सहयोग सोमबार बेनीमा हस्तान्तरण गरिएको हो ।  गरिब तथा विपन्न परिवारका विरामीहरुको उपचारमा सहयोग गर्ने उदेश्यले कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषको लागि मोना जापानद्धारा संकलन गरिएको उक्त रकम कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा मोना अन्र्तराष्ट्रियका कोषाध्यक्ष राम बहादुर खड्का, मोना जापानका उपाध्यक्ष इन्दीरा गर्वुजा, सल्लाहकार यामबहादुर खड्का लगायतले उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण गर्दै मोनाका कोषाध्यक्ष र मोना जापानका सल्लाहकार खड्काद्धय तथा म्याग्दी सम्पर्क चौतारी पोखराका अध्यक्ष प्रेमसंकर बरुवालले आर्थिक रुपमा विपन्न परिवारका विरामीको उपचारमा कोषले गर्दै आएको सहयोग र समन्वय प्रशंसनीय रहेको बताउनुभयो । हालै कोषका अध्यक्ष शाक्यको जापान भ्रमणको क्रममा मोना जापान र क्षेत्रीय समिती नागोयाको पहलमा त्यहाँ संकलन भएको रु १२ लाख बोल रकममध्ये नगद संकलन भएको रकमलाई मोना जापानले कोषलाई उपलब्ध गराएको हो ।

अन्य रकम समेत छिट्टै संकलन गरि उपलब्ध गराउने मोना जापानले जनाएको छ । सहयोग रकम बुझ्दै कोषका अध्यक्ष शाक्यले प्रवासमा रहेका म्याग्देलीहरुले परोपकारी अभियानको लागि गरेको सहयोगले कोषको अक्षयकोष बनाउने अभियानमा ठुलो सहयोग मिलेको बताउँदै सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । उहाँले अक्षयकोषबाट प्राप्त हुने व्याज रकम म्याग्दीका विपन्न परिवारका व्यक्तिहरुको उपचारमा परिचालन गरिने बताउनुभयो । ओमकुमारी शान्ति कोषले आर्थिक रुपमा विपन्न ५६ जनाको उपचारमा आर्थिक सहयोग एवम सहयोग संकलनको लागि अभियान सञ्चालन गरिसकेको छ ।

कोषले विपन्न परिवारका व्यक्तिको उपचारमा सहयोग गर्न रु १ करोड ५० लाखको अक्षयकोष स्थापना गर्ने उदेश्यले सञ्चालन गरेको अभियानमा अहिलेसम्म रु ५० लाख नगद र ५० लाख बोल रकम संकलन भैसकेको कोषका सचिब लोकेश पुन मगरले बताउनुभयो ।
यस कोषमा रु ५ हजार ५५० आर्थिक सहयोग गर्नेले आजिवन सदस्य र व्यक्तिगत रुपमा २ लाख एवम संस्थागत रुपमा ३ लाख बढी सहयोग गर्नेलाई संरक्षक सदस्य प्रदान गरिँदै आईएको छ ।

७ सय बढी आजीवन सदस्य भैसकेको यस संस्थामा १९ जनाले संरक्षक सदस्य बनीसकेका छन भने मोना कतार, मोना जापान, क्षेत्रीय समिती नागोया र म्याग्दी उद्धार समिती बहराइनले रु ३ लाख बढी सहयोग गरि संरक्षक सदस्य बनेका छन् । कोषका अध्यक्ष शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्र कुमार केसीले कोषको अभियानबारे प्रकाश पार्नुभएको कार्यक्रममा सहयोगदाताहरुलाई सम्मान एवम स्वागत गरिएको थियो भने सञ्चालन सचिब पुन मगरले गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकार सन्तोष गौतमले आफ्नो छोरा प्रणब गौतमको जन्मदीनको अवसरमा कोषलाई नगद रु ५ हजार ५५० नगद प्रदान गर्नुभएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l