मन्त्रीद्वारा स्थलगत निरीक्षण तथा स्थानीयसँग भेटघाट

  • ३ बैशाख २०७५, सोमबार
  • कर्णबहादुर खत्री
  • 2571 पटक पढिएको

म्याग्दी, बैशाख ३ – महिला, बालबालिका तथा जेष्ठनागरिक  मन्त्री थममाया थापाले आइतबार रुप्से झरना र अन्धगल्छीको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना गाउँमा रहेको आकर्षक रुप्से छहरा र संसारकै गहिरो अन्धगल्छीको मन्त्रीसहितको एक टोलीले अनुगमन गरेको हो ।


अनुगमन गर्दै मन्त्री थापाले रुप्से झरना र अन्धगल्छीको प्राकृतिक सौन्दर्यता नबिग्रने गरी विकास निर्माणका क्रियाकलापहरु सञ्चालन गर्नुपर्ने बताएकी छिन् । उनले रुप्से झरना संरक्षणका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्ने बताउँदै रुप्से झरना, अन्धगल्छीसहित आसपासका क्षेत्रको संरक्षण गरी पर्यटकीय आकर्षण बढाउन पहल गर्ने बताइन् ।

यसैगरी ज्ञानप्रकाश माध्यमिक विद्यालय दानामा मन्त्री थापाले विद्यालयका सरोकारवाला र स्थानीयसँग भेटघाट तथा अन्तत्र्रिmया गरेकी छिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पूर्जाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको तर्फदेखि छात्रावास निर्माण, चमेना गृह, नमुना विद्यालयमा सूचीकृत, विद्यालय वाल बगैंचा निर्माण जस्ता मागहरु राखिएको थियो ।

यसैगरी दाना गाउँको तर्फदेखि अन्धगल्छी संरक्षण, घट्टेकुलो तटबन्ध, कृषि सडक, पर्यटन पदमार्ग निर्माणलगायत मागहरु राखिएको छ । सुवा आधारभूत विद्यालयका प्रधानाध्यापक आनन्द पुन स्वागत र सरस्वती आधारभूत विद्यालयका प्रअ श्याम पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा दानाका वडाध्यक्ष नरसिङ पूर्जा, समाजसेवी जितबहादुर पूर्जा, ज्ञानप्रकाश माविका प्रअ शान्तबहादुर नेपालीले मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

भेटघाटका क्रममा मन्त्री थापाले मतदातालाई धन्यवाद दिँदै स्थानीय समस्याको समाधानका बारेमा आफूले सम्बन्धित निकायमार्फत आवश्यक पहल गर्ने बताएकी थिइन् । यसैगरी मन्त्री थापाले घारको पोखरेबगर र पिप्लेको घुमाउनेतालमा पनि भेटघाट गर्नुका साथै स्थानीय समस्या र जनताको अपेक्षाबारे जानकारी लिएको बताइएको छ ।

कर्णबहादुर खत्री