बेग र बाँदुक जोड्ने नेपालकै लामो पुल बन्यो पर्यटकको आकर्षण (भिडियो सहित)

  • ३ बैशाख २०७५, सोमबार
  • कमल खत्री
  • 5096 पटक पढिएको

म्याग्दी, ३ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नको लागि निर्माण गरिएको नेपालकै लामो झोलुङ्गे पुलको भम्रण गर्ने पर्यटक बढेका छन् । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलब ८० मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो मानिएको छ ।

पुल निर्माणको अधिकाँश काम सम्पन्न भएर वारपारको लागि खुला गरिएपछि अहिले अवलोकनको लागि दैनिक सयौँको भिड लाग्ने गरेको छ । नेपालकै लामो पुल भएकाले अवलोकन र भम्रणको लागि आउनेहरुको सख्ंया बढेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार, पुल निर्माण अन्र्तगत बाँदुक तर्फको बेसमा केही काम बाँकी रहेकाले उद्घाटन कार्यक्रमलाई केही पर सारिएको छ ।

यो झोलुङ्गे पुल निर्माण भएपछि बाँदुकदेखि बेग गाउँ वारपारको लागि लाग्ने करिब ३ घण्टाको यात्रा ३० मिनेटमै छोटीएपछि स्थानीयबासी समेत खुसी भएको बाँदुकका युवा काजु फगामीले बताउनुभयो । भिर र खोला नालाको अप्ठ्यारो बाटोबाट घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता लामो पुल निर्माणले हटाएको फगामीले बताउनुभयो । पुल निर्माण पछि अहिले म्याग्दीका विभिन्न ठाउँबाट दैनिक अवलोकनको लागि पुग्नेक्रम बढेको छ ।

 

पहिलो पटक लामो पुलमा पुगेका रानीपौवाका शंकर शर्माले लामो पुलमा यात्रा गर्दा खुसी लगोको बताउँदै यो पुलले पर्यटन आगमन बढाउने सम्भावना बलियो रहेको प्रतिकृया दिनुभयो । अहिले पुलमा पुगेर तस्बिर खिचाउनेहरुको सख्ंया ह्वात्तै बढेको छ । पर्यटक आगमन बढेपछि बेगतर्फको पुल नजीकै खाना र खाजाको लागि होटल समेत खुलिसकेको छ ।

बेग र बाँदुक गाउँको बिचमा रहेको बेगखोलाको खोचमाथि निर्माण भएको यस झोलुङ्गे पुलको १४८ मिटर भन्दा बढी अग्लाइ छ । जिल्ला समन्वय समितिले रु ३ करोड ३२ लाख लागतमा यो पुल निर्माणको ठेक्का लगाएको थियो । पुल निर्माणको लागि जिल्ला समन्वय समिति र स्थानीयको रु ३६ लाख बराबरको लगानीमा दुबै तर्फबाट पहुँचमार्ग विस्तार गरिएको थियो । अहिले पुलदेखि बेगको देउराली जोड्नको लागि वडा कार्यालयले पक्की पदमार्ग निर्माण सुरु गरेको छ भने रघुगंगा गाउँपालिकाले बाँदुकतर्फको भागमा रेलिङ सहितको सहज बाटो बनाउने तयारी गरेको छ ।

बेनी–जोमसोम सडकखण्ड अन्र्तगत बेगखोलादेखि करिब २० मिनेटको सवारी यात्रापछि पुगीने यस पुलको अवलोकनको लागि आन्तरिक संगै बाह्य पर्यटकहरुको पनि चाप बढ्ने स्थानीयको अपेक्षा छ । यो पुललाई पर्यटनसंग जोड्नको लागि भूरुङ तातोपानी, दोवा, बाँदुक, बेग हुँदै धौलागिरि आईसफल पदमार्गले समेटीएको पर्यटकीय रुइसे पुग्ने पदमार्गको समेत परिकल्पना गरिएको छ ।

यो झोलुङ्गे पुल निर्माण भएपछि रघुगंगा गाउँपालिका क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीको भनाई छ । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत बेगखोला र तिप्याङबाट यस झोलुङ्गे पुल सम्म पुग्नको लागि सडक सञ्जाल समेत विस्तार भईसकेकाले मुस्ताङ जाने पर्यटकहरुलाई समेत आकर्षित गर्ने र पर्यटक आगमन बढ्ने स्थानीयको अपेक्षा छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l