एमाले रघुगंगा गाउँ कमिटीद्धारा मन्त्री थापाको ध्यानकर्षण

  • ३ बैशाख २०७५, सोमबार
  • सन्दिप शर्मा
  • 2505 पटक पढिएको

म्याग्दी, ३ वैशाख । नेकपा एमाले रघुगंगा गाँउ सङ्गठन कमिटीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाको ध्यानकर्षण गराएको छ । रघुगंगा गाउँपालिका भित्रका समसामयिक समस्याहरुलाई समाधानको माग गर्दै मन्त्री थापाको ध्यानकर्षण सहित लिखित पत्र बुझाएको हो ।

रघुगंगा गाँउपालिका–३ घुमाउनेतालमा एक कार्यक्रमको आयोजना गरी मन्त्रीको ध्यानाकर्षण गराइएको थियो । कार्यक्रममा एमाले रघुगंगा गाउँ संगठन कमिटीको संयोजक दिपक कार्कीले भौगोलिक विकटताको कारण यस गाउँपालिकाको झिँ, पाखापानी र कुईनेक्षेत्रका नागरिकलाई गाउँपालिकाको केन्द्र मौवाफाँट आएर सेवा लिन असहज भएको भन्दै त्यस भेगका नागरिकलाई बैकल्पीक व्यवस्था गरि सेवा दिन प्रवन्ध गर्न माग गरीएको बताउनुभयो ।


ध्यानाकर्षण पत्र बुझाउँदै कार्कीले रघुगंगाका झी,ँ पाखापानी र कुईनेमङ्गलेलाई समेटेर नयाँ गाउँपालिका र त्यो सम्वभ नभए विशेष संरक्षण वा स्वायत्त क्षेत्र बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा रघुगंगा गाँउपालिकाभित्र ‘एक घर एक धारा’, बेनी–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला हुँदै कुईनेमङ्गले जोड्ने सडक निर्माण र गलेश्वर–पिप्ले–भगवती–वेग–चिमखोला जोड्ने सडकको स्तरोन्नतिको माग गरिएको छ ।

यसैगरी पिप्ले–रानीपौवा–रिसीन चौतारी–वेगखोला र बेनी–घतान–झीँ–पाखापानी–ठाडाखानी हुँदै कुईनेमङ्गलेसम्मको सडक स्तरोउन्नति साथै, डिपीआर तयार गर्नेगरी बजेट विनोजनको माग गरिएको संयोजक कार्कीले जानकारी दिनुभयो । त्यस्तै धौलागिरी आइसफल पदमार्ग, रुईसे–भेडीओढार, धौलागिरि सेन्चुरी पदमार्गलगायत पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसार गर्न प्रर्याप्त बजेट बिनियोजनको पनि माग गरिएको छ।

रघुगंगा गाउँपालिकाभित्र रहेको रिखार मन्दीरको संरक्षण र गलेश्वरस्थित गायत्री मन्दीरमा ज्येष्ठनागरिक आश्रम निर्माणका लागि बजेट मागिएको छ । कार्यक्रममा रघुगंगा आमा समुह गायत्री यूवा क्लवले मन्त्रि थापा लाई सम्मान तथा स्वागत गरेका थिए ।

सन्दिप शर्मा