रघुगंगामा ‘एक जनप्रतिनिधी एक विद्यार्थी भर्ना’ अभियान

  • २ बैशाख २०७५, आईतवार
  • 2945 पटक पढिएको

म्याग्दी, २ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकाले विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरि ‘एक जनप्रतिनिधी एक नयाँ विद्यार्थी भर्ना’ अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आइतबार सम्पन्न गाउँ कार्यपालिकाको वैठकले विद्यालय बाहिर रहेको विद्यार्थीको पहिचान र उनीहरुलाई शिक्षाको प्रत्याभूत गर्न वैशाख १० गतेभित्र जनप्रतिनिधीहरुले अनिवार्य रुपमा एकजना विद्यार्थीलाई भर्ना गराउनुपर्ने निर्णय गरेको हो । उक्त निर्णयले भर्ना अभियान थप प्रभावकारी बन्ने अपेक्षा लिईएको गाउँपालिका प्रमुख भब बहादुर भण्डारीले जानकारी दिए ।

‘गाउँपालिका अन्र्तगत हरेक वडा र विद्यालयमा वैशाख १० गतेसम्म यो अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णय भएको छ’, गाउँपालिका प्रमुख भण्डारीले भने ।

वैठकले गाउँपालिकामा एकिकृत सम्पत्ति कर लागू गर्नका लागि संभाव्यता अध्ययनसँगै त्यसबारे अनुभव आदानप्रदान गर्ने, गाउँपालिका भित्र सञ्चालनमा रहेका सडकहरुको दीगोपनाका लागि वृक्षरोपण अभियानलाई प्रभावकारी बनाउने निर्णय भएको छ ।

त्यस्तै, गाउँपालिका भित्र गुड्ने सवारीसाधनबाट कर संकलन गर्ने निर्णय गरिएको गाउँपालिका प्रवक्ता जीवन मल्लले जानकारी दिए ।

उनका अनुसार, डोजरलाई प्रतिदिन ५ सय, जेसीभीलाई ४ सय, ट्याक्टरलाई २ सय, जीपलाई १५०, ट्याक्सीलाई एकसय र बसहरुको २ सय रुपैयाँ शुल्क तोकिएको छ । झि र पिप्लेबाट उक्त कर संकलनको तयारी गरिएको छ । गाउँपालिकाले विभिन्न ऐन तथा विद्येयकहरु पारित गर्न वैशाख १७ र १८ गते गाउँसभा आयोजना गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद चापाँगाईले जानकारी दिए । ‘यातायातका साधनहरुबाट संकलन भएको शुल्क सडकको स्तरोन्नतिमै खर्च गर्नेछौँ’, उनले भने ।