म्याग्दीकाली एफएमको नवौं वार्षिकोत्सव

  • १ बैशाख २०७५, शनिबार
  • 1731 पटक पढिएको

म्याग्दी, १ वैशाख । म्याग्दीको सदरमुकाम बेनीबजारमा म्याग्दीकाली सञ्चार सहकारी संस्था लि.द्धारा सञ्चालित म्याग्दीकाली एफएम ८८.२ मेगाहर्जको नवौं वार्षिकोत्सव शनिवार शैक्षिक एवम् खेलकुद सामाग्री वितरण गरी मनाइएको छ । बेनी नगरपालिका वडा नं ८ कालीपुलमा अवस्थित श्री बालमन्दिर आधरभूत विद्यालयका विपन्न तथा जेहेनदार विद्यार्थीहरुका लागि विविध खेलकुद सामाग्री एवम् शैक्षिक सामाग्री वितरण गरिएको हो ।


बेनी नगरपालिकाका प्रमुख एवम् म्याग्दीकाली सञ्चार सहकारी संस्थाका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले शैक्षिक एवम् खेलकुद सामाग्री वितरण गर्नुभयो । बालमन्दिर आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहनुभएका कार्यक्रमका प्रमुख अतिथी श्रेष्ठले म्याग्दीकाली एफएमको सूचना र सञ्चारको क्षेत्रमा म्याग्दीमा महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । २०६६सालमा स्थापना भएको एफएमसंगै म्याग्दीकाली केबुल र इण्टरनेटमार्फतम्याग्दीकाली सञ्चार सहकारी संस्थाले सेवा प्रदान गर्दै आएको छ ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष एवम् रेडियो व्यवस्थापन समितिका संयोजक सुविन श्रेष्ठ,अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी,बेनपा ८ का वडाअध्यक्ष रामकृष्ण वराइली र बालमन्दिर आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रवहादुर महतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम म्याग्दीकाली सञ्चार सहकारी संस्थाका कार्यवाहक अध्यक्ष विजय श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष तथा रेडियो उपसमितिका संयोजक सुबिन श्रेष्ठको स्वागत मन्तब्य र स्टेशन संयोजक अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।