बलात्कारीलाई जन्मकैदको सजाँय हुने गरि कानुन संशोधन हुन्छ : मन्त्री थापा

  • १ बैशाख २०७५, शनिबार
  • कमल खत्री
  • 2141 पटक पढिएको

म्याग्दी, १ वैशाख । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाले मुलुकमा भैरहेको महिला हिंसाको घटना न्युनिकरणको लागि कानुन संशोधन आबश्यक रहेको बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा रहेको महादेव माविको स्वर्णजयन्ती समारोह एवम् विद्यालय पुननिर्माण अभियानको थालनी गर्दै शनिवार मन्त्री थापाले यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्लो समय बलात्कारका घटना बढ्दो क्रममा देखिएको बताउँदै यस्तो घटनामा दोषिलाई कडा कारबाही गर्नको लागि मन्त्रालयले अहिलेको कानुन संशोधनको गृहकार्य गरिरहेको बताउनुभयो । ‘ ४/५ बर्षका बालिका र अपांगता भएका महिलाहरु माथि पनि बलात्कार जस्ता जघन्य अपराध हुने गरेको छ, यस्तो घटनामा दोषिलाई सर्वोश्व सहित जन्मकैदको कानुन आबश्यक छ,’–मन्त्री थापाले भन्नुभयो ।

अहिले व्यवस्था गरिएको बलात्कार र महिला हिंसा सम्बन्धी सजाँय प्रयाप्त नभएको भन्दै उहाँले मन्त्रालयले आबश्यक तयारि गरि यस सम्बन्धि कानुन संशोधन गर्नको लागि मन्त्रीपरिषद मार्फत विद्येयक पास गरि संसदमा पेश गर्ने तयारी थालिसकेको बताउनुभयो । महिला हिंसाका घटना न्युनिकरणको लागि स्थानीय तहहरुले समेत आबश्यक जनचेतना अभिबृद्ध हुने खालका कार्यक्रम र निती तय गर्न आबश्यक रहेको उहाँको भनाई थियो ।

 

कार्यक्रममा बोल्दै मन्त्री थापाले महादेव माविको पुननिर्माणको लागि प्रवासी बेगखोलाबासीले करिब रु २ करोड संकलन गर्ने गरि अभियान थालनी गरेको भन्दै उक्त कार्यको प्रशंसा गर्नुभयो । जन्मथलोको विकासमा प्रवासीहरुले देखाएको अनुकरणीय कार्यको सरकारले उच्च प्रसंसा गर्ने बताउँदै उहाँले सबै नेपालीहरुको साथ र सहयोगले मात्रै मुलुकको विकास र समृद्धि हाँसिल हुने बताउनुभयो ।

वर्तमान वाम गठबन्धनको सरकारको प्रमुख कार्यभार भनेकै विकास, समृद्धि र सुशासन कायम गर्नु रहेको उल्लेख गर्दै मन्त्री थापाले आ–आफ्नो क्षेत्रबाट मुलुकलाई योगदान पु¥याउन सबैलाई आह्वान समेत गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै एनआरएन युेकेका अध्यक्ष एवम् बेगखोला कल्याणकारी समाज युेकेका अध्यक्ष योगकुमार फगामीले विद्यालयको पुननिर्माण अभियानमा रु १ करोड ३३ लाख रकम संकलन भैसकेको जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहयोगदाता , विद्यालयका पूर्व प्रअ, पूर्व अध्यक्ष, वडा अध्यक्ष, विभिन्न राजनितीक दलका नेता लगायतले समेत मन्तव्य राख्नुभएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l