तीनसय बर्ष पूरानो गुठी समस्याबारे मन्त्री थापाको ध्यानाकर्षण

  • १ बैशाख २०७५, शनिबार
  • गोपाल छन्त्याल
  • 4405 पटक पढिएको

म्याग्दी, १ वैशाख । म्याग्दीको भगवति, पिप्ले र दोवा क्षेत्रमा तीन सय बर्ष पुरानो गुठी जग्गाको समस्या समाधान गर्न स्थानीयले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थपमायाँ थापाको ध्यानाकर्षण गराएका छन् । शनिबार भगवतिस्थित मैदानमा रघुगंगा वडा नम्बर २ को कार्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा स्थानीय समाजसेवी देवेन्द्र बहादुर मल्लले पीडितहरुको तर्फबाट मन्त्री पुनलाई ज्ञापनपत्र बुझाउँदै ३ सय बर्ष पूरानो गुठीको जग्गा समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

स्थानीयको ज्ञापन पत्र बुझ्दै मन्त्री पुनले गुठीको जग्गा समस्या जटिल रहेको भन्दै त्यसबारे माथिल्लो स्तरमा कुराकानी गरिने बताइन् । ‘पहिला पनि यो समस्या समाधानका लागि केहि पहल भएको हो । यसलाई निस्कर्षमा पु¥याउन जरुरी छ’, उनले भनिन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, रघुगंगा गाउँपालिका प्रमुख भब बहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो । प्रमुख भण्डारीले गुठीको समस्या समाधानका लागि गाउँपालिकाको पहिलो गाउँसभा मार्फत माथिल्लो तहमा दबाब दिने र अहिलेसम्म लागेको कर हटाउन माग गर्ने निर्णय गरिएको बताए ।

उक्त कार्यक्रम वडा अध्यक्ष रिम बहादुर कटुवालले वडा कार्यालयले गर्दै आएको कार्यक्रमका साथै रुईसे भेडीओडारको पर्यटकीय संभावना बारे जानकारी गराएका थिए । यस अघि म्याग्दीको पिप्ले, भगवती र दोवामा रहेको गुठी जग्गाको समस्या समाधान गर्नको लागि प्रदेश साँसद विनोद केसीले समेत हालै प्रदेश सरकारको ध्यानकर्षण गराईसक्नुभएको छ ।

उहाँले प्रदेश संसदमा विशेष समय लिएर बोल्दै देशभरका अन्य गुठीहरु भन्दा यि तीन वडामा रहेको समस्या फरक रहेकाले यहाँका सर्वसाधारण नागरिकहरु जग्गा भएर पनि भुमिविहिन जस्तै बनेको बताउँदै प्रदेश सरकारले आबश्यक कानुन बनाएर गुठी जग्गाको समस्या हल गर्नुपर्ने भन्दै प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको थियो ।

गोपाल छन्त्याल