भगवती मैदान पुननिर्माण सुरु, अपुग बजेटको लागि आर्थिक संकलन तिब्र

  • ३० चैत्र २०७४, शुक्रबार
  • 2673 पटक पढिएको

म्याग्दी, ३० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीमा रहेको ऐतिहाँसिक खेलकुद मैदानको पुननिर्माण सुरु गरिएको छ । रघुगंगा गाउँपालिका कार्यालय र अन्य सहयोग दाताहरुको सहयोगमा आर्थिक संकलन गरि उक्त खेलमैदानको पुननिर्माण थालिएको हो  ।राखु क्षेत्रकै पुरानो खेलमैदानको रुपमा चिनिएको यस मैदानलाई ढलान गरि पुननिर्माण गर्न थालिएको भगवती युवा क्लबका अध्यक्ष प्रविन कुमार मल्लले बताउनुभयो ।

उहाँका अनुसार, खेलमैदानको स्तरोन्नतीको लागि गाउँपालिकाले रु ७ लाख बजेट उपलब्ध गराएको छ । उक्त खेलमैदानको ढलान सहित स्तरोन्नती गर्नको लागि करिब रु १३ लाख लागत अनुमान गरिएको छ । गाउँपालिकाबाट विनियोजन भएको बजेट अपुग भएपछि भगवती युवा क्लब र उपभोक्ता समितिले स्वदेश तथा विदेशमा रहेका राखुबासीहरुबाट आर्थिक संकलन अभियान चलाएका छन् । बिशेष गरि प्रवासमा रहेका भगवती युवा क्लबका पूर्व खेलाडी, पदाधिकारी एवम राखुबासीहरुको सक्रियतामा आर्थिक संकलन भैरहेको छ ।

अहिले प्रवासमा रहेका राखुबासीहरुबाट करिब रु ४ लाख ५० हजार आर्थिक संकलन भैसकेको छ । मुकुट बहादुर मल्लको अध्यक्षतामा गठन भएको उपभोक्ता समिति र भगवती युवा क्लबले अहिले मैदानको स्तरोन्नती गर्न ढलान कार्य अगाडी बढाएका छन् ।खेलमैदान ढलान गरेपछि ऐतिहाँसिक रुपमा दशैँको अवसरमा आयोजना हुने मेला तथा अन्य समयमा स्थानीय खेलाडीहरुलाई खेल अभ्यास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस खेलमैदान स्थानीय मुक्तिधाम माविमा अध्ययनरत विद्यार्थीहरुको समेत खेलअभ्यास गर्ने थलोको रुपमा उपयोग हुँदै आएको छ ।

छिट्टै उक्त मैदानलाई पक्कि खेलमैदानमा स्तरोन्नती गरिने योजना छ । बास्केटवल र भलिबल खेल संचालन गर्न सकिने गरि मैदानलाई ढलान गरिनेछ । खेलमैदान ढलान भएपछि सामान्य पानी अउँदा पनि मेला एवम खेल अभ्यासको क्रममा हिलो र अन्य समयमा धुलोको सास्ती हट्ने अपेक्षा गरिएको भगवती युवा क्लबका हिमाल रिजालले बताउनुभयो । क्लबले भगवती मैदानलाई व्यवस्थित गर्दै आधुनिक प्याराफिट निर्माण लगायतका योजना अघि सारेको छ ।