खारेज हुन लागेका कार्यालयको सम्पत्ती विवरण संकलन गरिदै

  • ३० चैत्र २०७४, शुक्रबार
  • सन्तोष गौतम
  • 2013 पटक पढिएको

बेनी ३० चैत । संघीयता कार्यान्वयनसंग स्थानीय तहमा समायोजन हुन लागेका बेनी स्थित कार्यालयहरुको सम्पत्ती, दायीत्व, बजेट, योजना तथा कार्यक्रमको विवरण संकलन कार्य सुरु भएको छ । संघीय मामिला, स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन र स्थानीय तहमा सेवा प्रवाह सम्बन्धि व्यवस्था २०७४ अनुसार जिसस प्रमुख देवेन्द्र केसीको संयोजकत्वमा रहेको उपसमितिको बुधबार बेनीमा बसेको बैठकले स्थानीय तहमा समायोजन हुन लागेका कार्यालयको विवरण संकलन गर्ने निर्णय भएको हो ।

सम्बन्धित कार्यालयका प्रमुखहरुको उपस्थितीमा बसेको बैठकले बैशाख १४ गतेसम्म स्थानीय तहमा समायोजन हुने कार्यालयहरुको बजेट, योजना तथा कार्यक्रम, सम्पत्ती र दायीत्व विवरण संकलन गरी उपसमितिमा पेश गर्ने निर्णय भएको जिल्ला समन्वय अधिकारी यमप्रसाद सुवेदीले बताउनुभयो । गत असोज २९ गते प्रमाणीकरण भएको स्थानीय तहमा सेवा प्रवाह सम्बन्धि व्यवस्था २०७४ अनुसार जिल्ला तहमा रहेका प्राबिधिक, कृषि, पशु सेवा, महिला तथा बालबालिका, भुसंरक्षण, खेलकुद, घरेलु तथा साना उद्योग, खानेपानी लगायत कार्यालय खारेज भएका छन् ।

ति कार्यालयले उपसमितिमा पेश गर्ने विवरणको आधारमा उपसमितिले आवश्यक निर्णय गर्ने भएको छ । यसैबीच जिल्ला कृषि विकास कार्यालयले म्याग्दीका ९ वटा सेवा केन्द्र सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरेको बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो ।

सन्तोष गौतम