स्वर्गाश्रमको प्रचार प्रसारको लागि पुगे जनप्रतिनिधि (फोटो फिचर)

  • ३० चैत्र २०७४, शुक्रबार
  • प्रताब बानियाँ
  • 2889 पटक पढिएको

म्याग्दी, ३० चैत । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली गाउँदेखि केही माथी रहेको स्वर्गाश्रम मन्दिरमा बिहीबार एक कार्यक्रम सम्पन्न भएको छ । स्वर्गाश्रम मन्दिर र बेनपा–३ को वडा कार्यालयको आयोजना तथा बेनी नगरपालिकाको पहलमा मन्दिरमा औपचारिक कार्यक्रम गरिएको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर ४ का सदस्य विनोद केसीले जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र विकासमा ध्यान दिनुपर्ने बताएका छन् ।

उनले जिल्लामा रहेका ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको दीगो विकास गरी आन्तरिक एवं बाह्य पर्यटकहरु भिœयाउन सकिने बताउँदै धार्मिक र पर्यटकीय क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने बताए । उनले स्वर्गाश्रमसँगै रहेको पर्यटकीयस्थल बेलढुङ्गाको विकासका लागि नगरपालिकाले आवश्यक योजना बनाएर प्रदेश सरकारसँग जोड्नुपर्ने बताएका थिए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले स्वर्गाश्रम तथा बेलढुङ्गाको विकासका लागि स्थानीय र जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्ने बताए ।

उनले जिल्लामा रहेका पर्यटकीय र धार्मिक क्षेत्रको विकास गरी म्याग्दीलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न सकिने बताएका थिए ।
कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्का, राष्ट्रिय अनुसन्धान अधिकृत अर्जुन शर्मा, नगर कार्यपालिका सदस्य, नगरपालिका अन्तर्गत विभिन्न वडाका वडाध्यक्षहरु, भकिम्लीका वडा सचिव, आमा समूह, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा स्वर्गाश्रमका साथै बेलढुङ्गाबाट दृश्यावलोकन गरिएको थियो । उक्त कार्यक्रममा पञ्चेबाजासहित भजनकिर्तन पनि गरिएको थियो ।


सोही कार्यक्रमको अवसर पारेर बेनपा–३, भकिम्ली बालमको सम्झना अगरबत्ती उत्पादन समूहले उत्पादन गरेको अगरबत्ती र भकिम्लीमा उत्पादन गरिएको आलुको बिक्री, वितरण तथा प्रदर्शन गरिएको थियो । कार्यक्रम भकिम्लीका वडा सदस्य तथा स्वर्गाश्रम मन्दिरका अध्यक्ष रत्नबहादुर जिसीको अध्यक्षता, मिलीजुली आमा समूह अध्यक्ष पूर्णमाया जिसीको स्वागत र जयन्ती माविका शिक्षक भोजबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

भकिम्लीको स्वर्गाश्रममा हरेक वर्षको बैशाख १ गतेका दिन रथयात्रा विशेष कार्यक्रम आयोजना गर्ने गरिएको छ । दुईवर्ष पहिले भकिम्लीको स्वर्गाश्रममा महायज्ञ लगाइएको थियो भने स्वर्गाश्रमसम्म पुग्नका लागि सडक विस्तार गरिएको छ । स्वर्गाश्रम मन्दिरमा विभिन्न स्थानबाट ऋषि एवं माताहरु आएर तपस्था गर्ने गरेका छन् ।

मन्दिर नजिकै रहेको ओढारमा पनि ऋषि तथा माताहरु बसेर ध्यान, तपस्या गर्ने गरेको स्थानीयबासिन्दा बताउँछन् । स्वर्गाश्रम र बेलढुङ्गाबाट म्याग्दीको पर्यटकीय तथा धार्मिक क्षेत्र, विभिन्न जिल्लाका साथै डाँडाकाँडा र धौलागिरी एवं अन्नपूर्ण रेञ्जका हिमश्रृङ्खलाहरुको मनोरम दृश्यावलोकन गर्न पाइन्छ ।

प्रताब बानियाँ