जनताको घरदैलोमा सांसद

  • ३० चैत्र २०७४, शुक्रबार
  • गोरखनाथ सुवेदी
  • 1565 पटक पढिएको

म्याग्दी, ३० चैत ।  संघीय संसदमा म्याग्दीबाट प्रत्यक्ष निर्वाचित सांसद भूपेन्द्रबहादुर थापाले मतदातासँग साक्षात्कार गरेका छन् । चुनावमा विजयी बनेपछि पहिलोपटक बिहीबार रघुगंगा गाउँपालिकाको पाखापानी र झिँमा पुगेका सांसद थापाले मतदातासँग भेटघाट र साक्षात्कार गरेका हुन् ।  रघुगंगा गाउँपालिका–६ पाखापानीमा आयोजित कार्यक्रममा बोल्दै सांसद थापाले गत निर्वाचनताका गरिएका प्रतिबद्धताबारे आफू सचेत रहेको र त्यसमा तलमाथि नहुने धारणा राखेका थिए ।

‘हामी खुद्रामसिना कुरामा अल्झिँदैनौं,’ मतदातासमक्ष बोल्दै थापाले भने, ‘जनताले प्रत्यक्षरुपमा महशुस गर्नेगरी विकास निर्माणका काम हुन्छन् ।’ कार्यक्रममा बोल्दै सांसद थापाले म्याग्देली जनताको प्रतिनिधिको रुपमा जिल्लाको विकास र जनताको समस्या सम्बोधनका लागि आफू सधैं लागिरहने प्रतिबद्धता जनाएका छन् । सोही कार्यक्रममा बोल्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले इतिहासमै शक्तिशाली बनेको सरकारसामू जनताले पाउनुपर्ने सेवासुविधा उनीहरुकै घरदैलोमा पु¥याउनुपर्ने चुनौती रहेको बताएका थिए ।

अबको पाँच वर्षमा नेपालमा समृद्धिको आधार तयार भैसक्ने आधारबारे चर्चा गर्दै अध्यक्ष श्रेष्ठले जनताको सरोकारका विषयमा स्थानीय तह, प्रदेश र केन्द्रीय सरकार गरी तीनै तहमा आवाज उठाउने प्रतिबद्धता जनाए । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले पाखापानी, कुईनेमङ्गले क्षेत्रका जनतालाई आफ्नै क्षेत्रबाट सेवासुविधा दिलाउन पहल गर्ने बताएका थिए । नेकपा एमाले पाखापानी गाउँ कमिटीका उपाध्यक्ष ईन्द्रबहादुर शेरपुजाको अध्यक्षता र स्थानीय अगुवा महिला दिपा पुनले स्वागत गरेको कार्यक्रमको सञ्चालन स्थानीय युवा नेता ओमकार पुनले गरेका थिए ।


यसैगरी बिहीबारै रघुगंगा–५ झिँमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई समेत सांसद भूपेन्द्रबहादुर थापाले सम्बोधन गरेका छन् । कार्यक्रममा बोल्दै सांसद थापाले आफू अब सबैको सांसद भएकोले यो वा त्यो दलको नभनी सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता जनाएका थिए । रघुगंगा–५ का वार्ड अध्यक्ष मनबहादुर सेरपुन्जाको अध्यक्षता, स्थानीय महिला श्रीमायाँ सेरपुन्जाको स्वागत रहेको कार्यक्रमको सञ्चालन तुलबहादुर गर्बुजाले गरेका थिए ।


पाखापानी र झिँमा आयोजित कार्यक्रममा सहभागी दुबै वडाका सहभागीहरुले गाउँपालिकाको केन्द्र टाढा हुँदा सास्ती भएको समस्या सुनाएका थिए । पाखापानी गाविसका पूर्वअध्यक्ष डिलबहादुर पुनले गाउँपालिकादेखि केन्द्रसम्म आफ्नै साथीहरु भएकोले पाखापानी क्षेत्रका जनताको समस्या समाधान हुनेमा आफूहरु आशावादी रहेको बताएका थिए । त्यस्तै झिँका वार्ड अध्यक्ष मनबहादुर सेरपुन्जाले अब अरुको मुख ताक्ने काम नगरी सबै मिलेर विकासमा लाग्नुपर्ने र यसका लागि सांसदले सहयोग गर्नुपर्ने धारणा राखे ।

‘काम गर्दा गल्ती सबैबाट हुनसक्छ,’ नेपाली कांग्रेसबाट निर्वाचित वार्डअध्यक्ष सेरपुन्जाले भने, ‘तर, अब तेरो मेरो नभनी सबै मिल्ने हो भने विकास गर्न सकिन्छ ।’ पाखापानी र झिँमा आयोजित कार्यक्रममा स्थानीय राजनीतिक दल, युवा क्लब, आमा समूह, स्वास्थ्यचौकी, हुलाक लगायतका कार्यालय र संघसंसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

गोरखनाथ सुवेदी