महादेव माविको पुनः निर्माणको लागि रु १ करोड २५ लाख संकलन (भिडियो सहित)

  • २९ चैत्र २०७४, बिहीबार
  • 3381 पटक पढिएको

म्याग्दी, २९ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालय पुननिर्माणको लागि रु १ करोड २५ लाख बढी आर्थिक संकलन भएको छ । विद्यालय स्थापनाको ५० आँै बर्ष पुरा भएको अवसरमा विद्यालय भवन पुननिर्माणको लागि प्रवासमा रहेका बेगखोलाबासीले उक्त रकम बुधवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १ र २ गते बेगमा बृहत समारोहका बिच मनाउन लागिएको स्वर्ण जयन्तीको अवसरमा पुननिर्माण गरिने विद्यालय भवनको शिलन्यास गरिने गरि तयारी भैरहेको बेगखोला कल्याणकारी समाज युकेका अध्यक्ष योगकुमार फगामीले बताउनुभयो ।

एनआरएन बेलायतका अध्यक्ष समेत रहेका समाजका अध्यष फगामीले बेलायत, हङकङ, कोरिया, जापान, पोर्चुगल, कतार, अमेरिका लगायतका मुलुकमा रहेका बेगखोलाबासीहरु विद्यालय भवन पुननिर्माणको लागि आर्थिक संकलन गरेको बताउनुभयो । उक्त अभियानमा स्वदेश तथा विदेशमा रहेका बेगखोलाबासीसंगै अन्य महानुभावहरुले समेत सहयोग गरेका छन् । अहिले जिर्ण रहेको विद्यालय भवनलाई पुननिर्माण गर्ने अभियानमा रु ५ लाख भन्दा बढी सहयोग गर्ने दाताहरुको नाममा कक्षाकोठाको नामाकरण गर्ने गरि सहयोग संकलनलाई तिब्रता दिईएको आर्थिक संकलन अभियानका सचिब नक्कु (नगेन्द्र) पुर्जाले बताउनुभयो । अभियानको क्रममा विभिन्न मुलुक र क्षेत्रमा रहेका बेगखोलाबासी र अन्य दाताहरुबाट करिब रु २ करोड संकलन गर्ने लक्ष्य रहेको पुर्जाले बताउनुभयो ।

कार्यक्रममा बेगखोला कल्याण्कारी समाज हङकङका अध्यक्ष गिरि शेरबुजा, युकेका सदस्य घनबहादुर गर्वुजा, विद्यालयका पूर्व प्रअ दुतबहादुर गर्वुजा, पुर्व शिक्षक चन्द्र बहादुर गर्वुजा लगायतले स्वर्ण जयन्तीको अवसरमा प्रवासमा रहेका पूर्व विद्यार्थीहरुको पहलमा विद्यालय पुननिर्माण अभियान सञ्चालन हुनुले बेगखोलाबासीहरुको एकतालाई बलियो बनाएकोमा जोड दिनुभयो । यस अघि प्रवासमा रहेका बेगखोलाबासीले रु १ करोड २५ लाख आर्थिक संकलन गरि बेग र बाँदुक गाउँमा सडक सञ्जाल विस्तार गर्न सहयोग गरेका थिए । प्रवासी बेगखोलाबासीहरुले गाउँमा लाखौँ लगानीमा खेलकुद मैदान निर्माण, विद्यालयमा इन्टरनेट सुविधा जडान, भवन निर्माण, विद्यालयमा कम्युटर कक्षा सञ्चालन, रु २५ लाख बढीको अक्षयकोष स्थापना लगायतका सामाजिक काम सम्पन्न गरिसकेका छन् ।

उनीहरुले स्वदेश तथा विदेशमा रहेका बेगखोलाबासीलाई बेगखोला कल्याणकारी समाज र उपशाखा मार्फत गोलबद्ध गरेका छन् । बेगखोला कल्याणकारी समाज युकेका अध्यक्ष एवम एनआरएन युकेका वर्तमान अध्यक्ष समेत रहेका योगकुमार फगामीको विशेष पहलमा बेगखोलामा प्रवासी सहयोग भित्रिन थालेको थियो । तत्कालिन अबस्थामा रुखको बोटमुनीबाट पठनपाठन सुरु भएको उक्त विद्यालयलाई २०२५ सालदेखि सरकारले कक्षा ७ सम्म पठनपाठन हुने गरि निमावि स्कुलको मान्यता दिएको थियो । यस विद्यालयबाट २०५७ सालमा पहिलो पटक कक्षा १० बाट तत्कालिन एसएलसी परिक्षामा विद्यार्थीहरु सामेल भएका थिए ।  विद्यालयको स्वर्ण जयन्ती मनाउन विभिन्न मुलुकमा रहेका बेगखोलाबासीहरु जन्मथलो फर्कने क्रम पनि सुरु भएको छ ।

विद्यालयको स्वर्ण जयन्तीको अवसरमा सञ्चालन गरिएको विद्यालय पुनःनिर्माण अभियानलाई सफल बनाउन बेगखोला कल्याणकारी समाज युकेका अध्यक्ष योगकुमार फगामी संरक्षक र युबहादुर गर्वुजा संयोजक, नक्कु ( नगेन्द्र) पुर्जा सचिब रहनुभएको मुल समिति गठन गरिएको हो । यसैबिच आगामी वैशाख १ र २ गते हुने विद्यालयको स्वर्ण जयन्ती समारोहमा महिला तथा बालबालिका मन्त्री थममायाँ थापाले उद्घाटन गर्नुहुनेछ । उक्त समारोहमा जिल्लाका विभिन्न उच्च पदस्त व्यक्तिहरुलाई आमन्त्रणको लागि निमन्त्रण पु¥याउने काम समेत भैरहेको प्रचार प्रसार समितिका संयोजक मेजन पुनले बताउनुभयो ।