म्याग्दी महिमा ( कविता)

  • २४ चैत्र २०७४, शनिबार
  • 3909 पटक पढिएको

म्याग्दी जिल्ला अति रमणीय शैलको काखभित्र
क्षितिजको आँचल ओडी कोर्दछु वृत्तचित्र
धौलागिरि हिमाद्रीको मधुमारुत चल्दा
सैर गर्दै नागवेली बग्ने काली गंगा

ऐँसेलु काफल पाखैभरी डाँडाकाँडा फुलेको
घना त्यो गुँरासेवनमा इन्द«धनु झुलेको
गर्दै पूजन भूमेथान दर्शन मालिकामा
माग्दै आशिस बराहीधाम ढोगी भैरवमा

गर्दै स्नान गाडपानी पीयूषधारा झर्ने
खोपी पाषाण वेणुलाई मन्दाकिनी बग्ने
कोकील गाउँने मयुर नाच्ने झुमिने वनैपाखा
घारखोला रुप्से झर्ना भुलिने जीवन सारा

कोटमन्दिरमा नृसिंहमा श्रद्धासुमन भरेको
शिखा हुँदै घोरेपानी खिवाङसारा डुलेको
पोर्खेबगरबिरौटाको प्रवेशविन्दु बन्दा
निलगिरि हिमकोछटा मनै बन्छ चङ्गा

मधुमास गुञ्जीयो वन झरेर सङ्गीतसुर
निर्जन शून्य ब्युँझाएर झस्की गीत मधुर
पाक्दै गुँहुली लेकबेसी पैयुझप्प फुल्ने
शृङ्गार त्यो शैलरानी सुनाखरी झुल्ने

नन्ददेवी हिमगिरिको टल्कीयो केशराशि
निसर्गको पाठशाला जहाँ छर्दै दिव्य रश्मि
तिप्लाङ चित्रे भिरकोटमा मेघको लुकामारी
पाउदरको लेकउपर चर्दै मेष चमरी

कृष्ण गण्डकीको किनार गलेश्वर धाम
ढोगी दामोदर कुण्डमा पुज्दैशालीगा्रम
बहेली खेल्दै कुञ्जभित्र एकान्तमा हराउँला
अमरावती अनुपम त्यो जीवन त्यहीँ बसाउँला

खेद छैन तिम्रो तस्वीर स्मृति राजगर्ने
असीम त्यो आवा भित्र जोहो शिल्प भर्ने
तपस्वी हौ प्रकृति तिमीले मन्त्रमुक्दै बनाई
कलकल निर्झर सुशीतल सरिता वनपाखा सुसाइ

पुनिल शिखर सोपान चढ्दै दृश्य अतुल खानी
टल्काइ रजत उपर्ना हिमको भूषण रुप रानी
बग्दै कलकल वेगनदी पर्वतबाट झर्ने
गर्दै छङछङ बगरभरी कम्पन सेतु तर्ने

सगरचुम्बी थुम्का ती ओडी हिम पछ्यौरी
चटान शिला तृण नगमा बन्दै पल्लव हरियाली
तातोपानी सरोवरमा काया निर्मल पारी
दूरवीनडाँडाँ भुरुङहुँदै घुमी अन्धगल्छी

झप्प कदली बैसेरीमा भोकप्यास टर्ने
झङ्कार त्यो मविर झर्ना मनै मोहित पार्ने
दुगुनपानी पाखापानी जल शुभ्र बग्ने
तोरड टाँगी सल्लेरीमा वनदेवी हाँस्ने

खोप्राभरी खच्चर घोटक छमछम नाच्ने
वारीभरि गुजेली चुथ्रो अम्बा ओखर पाक्ने
थकाइलो हेरी डिल माथि सुलुली पत्थरमा
टोकी आल्चा मौसमीलाई बाडी मित्रजनमा

दरबाङ र दोवाहुँदै हिस्ताङ पात्लाखेत
कुटुका हुँदै नारच्याङ घराम्दी भेटघाट
भनथानाको भञ्ज्याङ हुँदै डुली नागीडाडाँ
खयर वराह दर्शनगरी घुम्दै राखुसारा

देउरालीमा पारिजात लालुपाते फुल्ने
ओडारे र पिप्लेभरि नागरङ झुल्ने
गिवाङ र दानाभरि नास्पाती फल्ने
उखेलेर जलअमला सिस्नो अल्लो पोल्ने

प्रकृतिको सृष्टि सुन्दर खेल्छ लुकामारी
नौडाँडाको तरेली छ हरित फाँटपारी
विच्छ्याइ शिला चौतारीमा सोपान नागवेली
कुसुमह हेर्दै अरण्यमा वनौ लाग्छ माली

उहीँ दीपदर्शन  पुरी गाउँले
शनिश्चरे ४ सेतीपानी झापा नेपाल
दूरभाष अङ्क ९८६२६४१६११, ९८१६०६४०६६
दिनाङ्क : २०७१/०२/१०