थाली नाचकी सर्जक हिरामायाँ पुन (श्रीष)लाई चिमखोलामा अभिनन्दन (फोटो फिचर)

  • २३ चैत्र २०७४, शुक्रबार
  • कमल खत्री
  • 5352 पटक पढिएको

म्याग्दी, २३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा जन्मिएकी थाली नाचकी सर्जक हिरामायाँ पुन (श्रीष) लाई अभिनन्दन गरिएको छ । हाल बागलुङमा बसोबास गर्दै आएकी थाली नाचको सिर्जनाकर्ता पुन भुमेपुजाको लागि जन्मथलो चिमखोला पुगेको अवसरमा भव्य सम्मान सहित अभिनन्दन गरिएको हो ।

चिमखोले फेसबुक समुहको पहलमा गृह गाउँमा पुगेकी पुनलाई वडा अध्यक्ष देउप्रसाद ( दुर्गा ) पुन, हिमालयन आमा समुहका अध्यक्ष बुद्धिमायाँ पुन, मण्डली युवा क्लबका अध्यक्ष तिर्थ पुन लगायत स्थानीयबासीले अविर, फुलमाला, दोसल्ला र खादा लगाएर सम्मान गरेका थिए ।
वि.स. २००८ सालमा चिमखोलाको जस्लाबाङमा जन्मिएकी पुनले सबैभन्दा पहिला थाली नाच प्रदर्शन गर्नुभएको थियो । अहिले देश विदेशमा समेत निकै चर्चा कमाउन सफल भएको थाली नाचको सर्जक पुनले मगर समुदायमा नयाँ नाचको सिर्जना गरि गाउँलाई देश विदेशमा चिनाउन सफल भएकाले उहाँलाई नागरिक अभिनन्दन गरिएको वडा अध्यक्ष पुनले बताउनुभयो ।
घरमा खाना खाएको थाललाई धारोमा धोएपछि घरभित्र पस्ने बेलामा हातमा नचाउने बानीलाई कलामा रुपान्तरण गरेपछि कलाकार पुनले झण्डै ५० बर्ष अगाडी थाली नाचको सिर्जना गर्नुभएको थियो । ‘‘ अहिले विश्वभर रहेका नेपाली समुदायमा थाली नाच लोकप्रिय बनेको छ, तर यसै नाचको सृष्टिकर्ता कलाकार पुन भने ओझेलमा पर्नु दुखदायी हो, त्यसैले हामीले उहाँलाई आफ्नै जन्मथलो पु¥याएर सम्मान गरेका हौँ,’’– चिमखोले फेसबुक समुहका अभियान्ता विरन पुनले भन्नुभयो ।
आफु जन्मेको ठाउँमा सम्मानीत हुँदै गर्दा कलाकार पुनको आँखा रसाएका थिए । २०२५ सालमा प्रजातन्त्र दिवसको अवसरमा संस्कृति विभागले काठमाण्डौमा आयोजना गरेको संस्कृति प्रर्दशनमा जिल्ला, अञ्चाल र विकास क्षेत्रमा छनौट हुँदै काठमाण्डौमा पुगेकी पुनले थाली नाच प्रदर्शन गरेपछि यो नाचले व्यापकता पाएको हो । पुनले जिल्ला र अञ्चल स्तरका दर्जनौँ, मेला, महोत्सव एवम साँस्कृतिक कार्यक्रमहरुमा थाली नाच देखाएर पुरस्कार हात पारिसक्नुभएको छ ।
दुवै हातमा केही नलगाई ठुलो चरेशका थालीलाई हत्केलामा अढाएर जताजतै घुमाएर उठबस गर्ने गरि थाली नाचको सुरुवात गरेकी पुनले आफ्नो कलालाई सम्झिएर जन्मथलोमा अभिनन्दन हुँदा आफुलाई खुसीले हर्षित बनाएको प्रतिकृया दिनुभयो । ‘‘ मैले अन्जानमा थाल नचाउने सिपलाई नाचकै रुपमा सुरु गरेको थिए, अहिले जतातजै थालीनाचको चर्चा सुन्दा खुसी लाग्छ ’’–पुनले भन्नुभयो ।

हेर्दा निकै आकर्षक र रमाईलो मानिने उक्त थालि नाचले अहिले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै चर्चा पाउन थालेको छ । सो अवसरमा पुनले मण्डली युवा क्लबले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा थाली नाचको सुभारम्भ समेत गर्नुभएको थियो । त्यसैगरि कार्यक्रममा हाल युकेमा रहनुभएका भविराज पुनले चिमखोलाका अग्रज पुख्र्यौली नाचका कलाकार ल बहादुर पुनलाई सम्मान रुवरुप पठाउनुभएको रु १० हजार १० रुपैयाँ वडा सदस्य लक्ष्मण पुन मार्फत प्रदान गरिएको थियो भने जेष्ठ नागरिकहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l