‘रुईसे–भेडिओढारको हत्केलामै हिमाल’

  • २१ चैत्र २०७४, बुधबार
  • धिरन खत्री
  • 4345 पटक पढिएको


म्याग्दी, २१ चैत । बेनीदेखि एक दिनकै पदयात्रामा पुग्ने सकिने पर्यटकीय गन्तव्यको सुचिमा रुइसे–भेडिओढार पनि एक हो । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रका पर्यटकीय क्षेत्रहरुलाई समेटेर मुस्ताङ् जोडिने धौलागिरि आईसफल पदमार्गको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकसीत भैरहेको यो क्षेत्र बेग, भगवती, अक्षता र कलेजाबाङको शिरमा पर्छ भने दग्नाम र चिमखोलाले समेत यस क्षेत्रको सिमा क्षेत्रलाई समेटेको छ ।


प्राकृतिक सौन्दर्यतामा रमाउनेहरुको लागि उत्तम गन्तव्य मानिएको यो क्षेत्रबाट धौलागिरी, अन्नपूर्ण, निलगिरि, माछापुच्छे«, चुरेन र गुर्जा लगायतका दर्जनौ हिमालको लोभलाग्दो दृष्यावलोकन गर्न सकिन्छ । समुद्रि सतहदेखि २५ सय २० मिटर उचाईमा अवस्थित यो क्षेत्र रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकिय गन्तव्यको रुपमा विकास हूँदै गएको छ । बेनीदेखि पिप्ले, भगवती हुँदै रुइसेमा पुगेपछि त्यहाँ खानपानको लागि अहिले अस्थायी रुपमा व्यवस्थापन गरिएको छ भने भेडिओढारमा प्राकृतिक ओढारमा क्याम्पीङको अनुभुति लिन सकिन्छ । धौलागिरि आईसफलको पहिलो पर्यटकीय स्थलको रुपमा रहेकाले यस क्षेत्रलाई गाउँपालिका र वडा कार्यालयले समेत प्राथमिकता दिएर पूर्वाधार निर्माण गरिरहेका छन् ।


रुइसेको थामकोटमा भ्युटावर निर्माण गर्ने योजना बनाईएको छ । रुइसे नजीकै रहेको नौलीबराह थान सम्म पुग्न मोटरबाटो समेत निर्माण गरिएको छ । तत्कालिन बाईसे चौबिसे राज्यको पालामा राजदरबार समेत रहेको यस ठाउँ ऐतिहाँसिक रुपमा समेत महत्वपूर्ण मानिदै आएको छ । यहाँ तत्कालिन दरबाङको भग्नाबशेष, राजाले पानी खाने धारा, हात्ति बाध्ने ठाउँ, विसौना लगायतका अबशेषहरु समेत रहेको स्थानीय जानकारहरु बताउँछन् । यहाँ पुग्नको लागि बेनी देखि भगवती पुगेर जिल्लाकै ऐतिहाँसिक भगवती कोट मन्दिरको दर्शन गरेपछि त्यहाँ खानपिनको व्यवस्था समेत छ । साँझ भगवतीमा बास र विहानमा रुइसे हुँदै भेडिओढारको पदयात्रा उत्तम मानिन्छ । रुइसे र भेडिओढारमा पुगेपछि दन्तेलहर जस्तै देखिने हिमशृङ्खला, प्राकृतिक भु–वनोट संगै जंगली जनावर, चराचुरुङ्गीहरुको चिरबिर आवाज पनि कर्णप्रिय लाग्छ । बसन्त ऋतुमा फुल्ने लालिगुराँसले यहाँ पुग्ने जो कोहीलाई मोहनी लगाउने गर्छ ।


प्राकृतिक रुपमा समेत मनमोहक रहेको यो क्षेत्रमा रहेका भगवती कोट मन्दिर, रुइसेको भुमे मन्दीर, नौलि बराह, देउराली मन्दीर लगायतका धार्मिक स्थलहरुले धार्मिक पर्यटकनको महत्व पनि बोकेको छ । यस क्षेत्रमा रहेका भेडाबाख्रा र गाईभैसीको परम्परागत गोठहरु पनि शहरी जनजिवनमा हुर्किएकाहरुको लागि अनौठो हुनसक्छ । परम्परागत गोठहरुमा ग्रामीण जनजिवनको अध्ययन गर्न पाउनु यहाँ पुग्ने हरुको लागि थप फाईदाको बिषय हो । म्याग्दी उद्योग बाणिज्य संघले आगामी बर्ष २०७५ लाई म्याग्दी भ्रमण बर्षको रुपमा मनाउने तयारी गरिरहँदा सदरमुकाम बेनीको नजीकै रहेर पनि ओझेलमा परेका रुइस्ो–भेडिओढार जस्ता पर्यटकीय क्षेत्रहरुले पर्यटकको आगमन कुरीरहेका छन् । यस्ता पर्यटकीय क्षेत्रहरुलाई प्रचार प्रसार र पूर्वाधार निर्माण मार्फत उजागर गरि पर्यटक भित्र्याउन सके जिल्लाकै विकास र समृद्धिमा सहयोगी बन्न सक्नेमा दुइमत छैन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l