लालिगुराँसमा रमाउन घोडेपानीमा पर्यटकको चहलपहल बढ्यो (फोटो फिचर)

  • १९ चैत्र २०७४, सोमबार
  • कमल खत्री
  • 3373 पटक पढिएको

म्याग्दी १९ चैत । पर्यटकीय यामको सुरुवातसंगै म्याग्दीका पर्यटकीय स्थलहरुमा आन्तरीक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको छ । घोडेपानी, पुनहिल, खोप्रा, मोहरेडाँडा, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग लगायतका क्षेत्रमा पर्यटकको चहलपहल बढेको हो । बसन्त ऋतुको आगमनसंगै विश्वका विभिन्न देश र नेपालका सहरी क्षेत्रहरुबाट आन्तरीक तथा बाह्य पर्यटकको आगमन बढेको अन्नपूर्ण गाउँपालीका ६ स्थित घोडेपानी होटल ब्यवस्थापन उपसमितिका उपाध्यक्ष शुसील पुनले बताए ।

म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानीमा हिजोआज दैनिक पाँच सय जनाको अनुपातमा पर्यटकहरु भ्रमणका लागी पुग्ने गरेका छन् । देशको राजनितिक अवस्था, शान्ति सुरक्षा राम्रो भएको र अनुकुल मौसम भएकाले पदयात्रा तथा हिमाल आरोहणका लागि यसपाली विगतका वर्षको तुलनामा पर्यटक आगमन राम्रो भएको बेल्जीयमका चार जना पर्यटकलाई म्याग्दीको घोडेपानी घुमाउन लिएर आएका शेर्पा एडभेन्चर ट्रेकका पथप्रर्दशक सुरेन्द्र बस्नेतले बताए ।

अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख पर्यटकीय केन्द्रको रुपमा रहेको घोडेपानी, पुनहिल क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुको लागि बसन्त ऋतुमा पाखाभरी ढकमक्क फुलेका लालीगुराँस यो यामको बिशेष आकर्षण हो ।

हिमशृङखला र सुर्योदयका साथै पाखाभरी फुलेका रंगीबिरंगी लालीगुरास अवलोकन गर्न पाउदा पर्यटकहरु दंग परेका छन् । विश्वकै विशाल लालिगुरासको जंगल मानिएको घोडेपानी, पुनहिल, खोप्रा,बयली, फुलवारी, मोहरे क्षेत्रमा फुलको थरिथरिको लालिगुराले पर्यटकहरुलाई थप आकर्षित गरिरहेको घोरेपानीका होटल व्यवसायि टेकसर पुनले बताए । पर्यटकको आगमन वृद्धीसंगै होटलमा चाप बढेको घोडेपानीको धौलागिरी होटलका सञ्चालक ओमनारायण पुनले बताए ।

पर्यटक आगमनको क्रम बैशाख दोस्रो सातासम्म बृद्धी हुदै जाने पर्यटक तथा होटल ब्यवसायीहरुले बताएका छन् । कास्कीको नयापुल, घान्द्रुक, म्याग्दीको पोखरेबगर, मोहरेडाडा हुदै पुगीने पहाडी बस्ती घोडेपानीमा २३ वटा सुबिधा सम्पन्न होटलहरु रहेका छन् । जहा दैनिक आठ सय देखि एक हजार जना सम्म बास बस्न सक्छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l