पिआरवाला केटा

  • १८ चैत्र २०७४, आईतवार
  • 3307 पटक पढिएको

प्रगति ढकाल /

नारायणघाटबाट काठमाडौं जानुपर्ने मलाई मुग्लिनको कहालिलाग्दो जाममा बस्न नपरोस् भनेर मिरमिरे उज्योलोमै घरबाट निस्किएँ।

गाडी चढ्न राजमार्गमा निस्कने बित्तिकै ‘धनगढी टु काठमाडौँ’ लेखिएको बस आईरहेको देखेँ। बसलाई हात दिएँ।

‘ओ दिदी कहाँ सम्म जाने हो?’, सह–चालक भाइले गाडीको ढोकाबाट टाउको निकाल्दै सोधे।

‘काठमाडौं जाने सिट खाली छ र?’, मैले सोधेँ।

जवाफ आयो – ‘छ हो छ, चडिहालम्।’

गाडीमा उक्लिएँ। फेरि सोधेँ, ‘आच्या भाइ! लास्टमा पो!’

‘लास्टाँ होईन भन्या, सेकेन्ड लास्टाँ छ त, हेर्नु छैन, पहिल्यै प्यारप्यार बोलेर भएन नि,’ उसले उल्टै मलाई भन्यो।

‘ओके ठीक छ, ल भाइ झोला राख्दिनू। फुट्ने सामान छ, जतनसँग नि?’, मैले अर्थ्याएँ ।

देख्दा त ऊ उमेरमा मभन्दा जेठैजस्तो लाग्थ्यो, सबै सह–चालकहरू ‘भाइ’ शब्दले सायद आनन्दित नै हुन्छन् क्यार। जति उमेर जेठो भए पनि दिदी भनेर बोलाउँछन् । न उनीहरू रिसाउने न त मेरो आयु नै घट्ने। म पनि भाइ भनिदिन्छु पहिल्यैं।

सेकेन्ड लास्ट लाइनमा एउटा सिट खाली थियो, अर्कोमा एकजना अधबैँसे महिला थिइन्। जानेबित्तिकै मुखमा पुलुक्क हेरेर भनिन्–‘नानु तिमी झ्यालाँ बस है, मलाई हावा लाउच।’

‘हुन्छ आन्टी,’ मैले सहज रूपले जवाफ दिएँ। पछाडिको सिटमा उस्तै उमेरका चार जना केटीहरू थिए। उमेरले करिब भर्खर अठार–बीस वर्षका जस्ता देखिने उनीहरू प्राकृतिक रूपमै सुन्दर थिए। चर्को-चर्को स्वरमा एकअर्कासँग बोल्ने, जिस्किने र हाँस्ने गर्दै थिए।

नचाहँदा नचाहँदै पनि मेरो ध्यान उनीहरूको कुरापट्टि गइरहेको थियो। मनमनै सोचेँ, ‘कति बोल्न सकेका होलान् यी ठिटीहरू! बसमा… निदाउन मज्जा लाग्थ्यो, निदाउँनै नपाइने भयो।’

साना साना कुरामा तिनीहरू कति धेरै हाँस्दै थिए। मलाई भने खित्का छाडेर हाँस्न कुनै घत पर्ने ठूलै कुरा चाहिन्छ। उनीहरू सबै जना रमाईला रहेछन्। आफूलाई सकारात्मक बनाउँदै मनमनै सोचेँ– ‘दुई दिने जिन्दगी यसरी हाँसेर, रमाएर बिताउनु नै बेश हो हुन त।’

एउटीले भनी ‘ओई रञ्जने, त्यो फोटा देखा न हिजो खिचेको हेरूम्।’

‘ह्या! छोड् अहिले। पछि तेरै मोवाईलमा पठाम्ला क्या।’

अर्की बीचैमा कराई– ‘ओ केटी हो, भन न हो, कस्तो लाग्यो जर्नी?’

‘कुरै नगरौं। साह्रै मज्जा आयो नि।’

‘थाहा छ तँलाई? यो डल्लीले त हिजो जङ्गल सफारीमा गैंडा नै देखिन रे। क्या हँसा’की क्या,’ एउटीले भनी।

कुराको विषयबाट मैले अनुमान लगाएँ, ‘सायद उनीहरू सौराहा घुमेर आएका हुन्।’

‘डल्लीको आँखामा पिआरवाला केटा बस्या छ रे क्या, अनि के देख्थी त नि गैंडा,’अर्कीले खितखिताउँदै थपी।

‘धेरै डल्ली डल्ली भन्ने होईन, पिटाइखालिस् नि। यो चुच्चीको हिलसिल फुकालेर फाल्दिम्? अनि मेरो साईजाँ आउँछे। नाक भने टिप्न बिर्स्या घिरौंला जत्रो छ, अझ फूर्ति लाउँछे।’

बेला बेला सबैजना बिनाकारण खित्का छोडेर हाँस्दै थिए। मलाई पनि रमाईलो लागिरहेको थियो। भर्खर भर्खर किशोरावस्था बितेको र युवावस्थाले पाइला राख्दै गरेको कलिलो उमेर आहा! कस्तो रमाईलो जस्तो लाग्यो। न व्यवहारिक जिम्मेवारी न त देश दुनियाँको चिन्ता। मात्र घुमफिर र हाँसखेल।

हुन त टिनएज मैले पनि पार गरेकि नै हुँ। तर मैले साथी–सङ्गीसँगको घुमफिर, अनि यस्तै रमाईला अनुभव संगाल्न पाएकी थिइनँ। उनीहरूको जस्तै टिनेजमा त सानो–तिनो जागिरका लागि भए पनि काठमाडौंको गल्ली गल्ली चहार्दै बिते। मम्मीले गाउँबाट पठाउनुभएको भुटेका मकै र भट्मास सकिँदा आज नास्ता के खाने होला भन्ने चिन्ताले सताउँथ्यो। यस्तै त हो हामीजस्ता गाउँको समान्य निम्न मध्यम परिवारबाट काठमाडौं आएर सङ्घर्ष गर्नेहरूको एकनासको कथा।

कहिलेकाहीँ  मासु खान मन लाग्दा पनि बुवाले छोडिदिनुभएको खर्च कति बाँकी होला? पुग्ला कि नपुग्ला? भनेर ओछ्यानको डस्नामुनि राखिएको नोट निकालेर हिसाब गर्नुपर्थ्यो। घुम्नका लागि खर्च गर्ने त परै जाओस्, थोरै खर्च गर्दा पनि धेरैपटक सोच्नुपर्थ्यो। तर, मलाई यस्तो कुरामा कहिल्यै खिन्नता भएन। गाउँबाट राजधानीसम्म आएर पढ्न पाउनु नै आफ्नो भाग्य सम्झन्थेँ। हरेक पल म यसैमा रमाउँथेँ। तर, कहिलेकाहीँ तुलना स्वाभाविक बनेर आउँदो रहेछ।

मिरमिरे उज्यालोमा भालेको डाकोसँगै हिँडेको मान्छे म। पूर्व क्षितिजबाट सूर्य उदाउने तर्खर गर्दासम्म पनि हामी मुग्लिन कटिसकेका थिएनौं। जाम् थियो। जाम लामै होलाजस्तै लाग्यो। सह चालकले भने, ‘ल हैं, को को लाई झाडीतिर जान मन् छ, गैहालम्, अब त गाडी भातखाने बेला मात्रै रोक्छ।’

सबै निस्किए। जामले लाम–लस्कर लागेका गाडीहरू नियाल्दै म पनि निस्किएँ। मलाई ती बहिनीहरू साह्रै रमाइला मिजासका लागे। उनीहरूका गफहरू सुन्दा आनन्द लागिरहेको थियो। म उभिएकै छेउनिर आएर सेल्फी हान्दै थिए। ओठ चुच्चो पारेर चुम्बन गर्न लागे झैं गरेर। बोल्न मन लागेको थियो। बहाना खोजिरहेकी थिएँ । अलि नजिक गएर भनेँ, ‘एस्क्यूज मी, म खिचिदिऊँ?’

खुसीको भावमा उनीहरूले भने, ‘वा..आ….उ.. ह्वाई नट?’

‘हेर्नुस् त कस्तो आयो?’ मैले फोटो खिचिसकेपछि उनीहरूको मोवाईल फिर्ता गर्दै सोधेँ।

सबैजना फेरि खित्का छोडेर हाँस्दै भने, ‘ओ माई गड, कति राम्रो आएछ। थ्याङ्क यू दि।’ कसैलाई खुसी हुन र हाँस्न पनि कति साना कुरा नै काफी हुने। बिस्तारै जाम खुल्ने लक्षण आउँदै थियो र गाडीहरू स्टार्ट हुन थाले । हामी फेरि गाडीमा उक्लियौँ।

‘यो फोटो त क्या राम्रो आएछ। ओई डल्ली तेरो पि.आर.वालाई पठाईदे है!’

फेरि अर्कीले थपी, ‘के हो क्या त्यो पि.आर.वालाको कुरा? यत्तिकै जिस्केको हो कि के हो?’ अर्की बोली, ‘हो भन्या, ब्या’ नै गर्ने रे। अमेरिका जाने भई मोरी, बरू हाम्लाई के ल्यादिन्छे कुन्नी?’

फेरि उसले निकै उमङ्ग भावमा भनी ‘ह्या! बिहे गर्न त दे पहिले… अनि त तिमीहरूलाई के के ल्यादिन्छु के के।’

अर्कीले थपी, ‘अनि तेरो ब्वाइफ्रेन्डले था’ पायो भने त आत्महत्या गर्ला नि।’

उसले भनी, ‘माया मात्रै भनेर के गर्नु, राम्रो रेस्टुरेन्ट लगेर खुवाउन सक्ने हैसियत त छैन मोराको, ह्या! बिहे त पि.आर.वालासँगै हुन्छ नि। प्रेम अर्कै कुरा हो बिहे अर्कै।’

‘भाग्यमानी रै’छे मोरी। विदेश गएसी’ यसो हाम्लाई नि खोज्दे है पि.आर.वाला केटो!’

‘यसलाई कति माया गर्छ यार उसले, छोड्दे पिआर/ सिआरवाला। अरूलाई धोका न’दे यार।’ ग्रुपमध्येकी एउटी सम्झाउन खोज्दै थिइ।

‘छोड्दे। केही हुन्न। फेसबुक ब्लक गरिन्छ, फोन नम्बर नि चेन्ज गरेर बिहे गर्ने हो मत। अमेरिका पुगे’सी त बाल मतलब।’ हाँसो छुटाएर उसले भनी। सबै खित्का छोडेर फेरि हाँसे।

मलाई पटक पटक पिआर-पिआर भनेको सुन्दा दिक्क लाग्न थालेको थियो। मेरो एक जना आफन्तले सक्षमहरू विदेश र असक्षमहरू नेपाल बस्छन् भनेर सुनाउँदै थिए एक दिन। कस्तो सोचाइ ? कस्तो मनसिकता? उनको मानसिकताप्रति धेरै दया जाग्थ्यो।

केही महिनाअघि एक जनाले फेसबुकमा फोटो देखाउँदै भने, ‘यो केटो पि.आर.वाला हो, यो सँग बिहे गर्छौ?’, मैले जवाफ दिएँ- ‘सोचौंला नि, अहिले के को हतार?’

मलाई छुट्टै ग्रहकै मान्छे देखाएझैँ गर्दै भनेका थिए- ‘पि.आर.वाला केटा पाउँदा पनि के को सोचौंला नि ? खुरुक्क हुन्च नभनेर।’

म बहस गर्ने मनस्थितिमा थिइनँ। अनि कुरा अन्तै मोडिदिएँ। हुन त म विदेश लामो समय बसेकी छैन। तर, जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दुई पटक युरोप गएकी छु। मैले त्यहाँ सुख फलेको बोट कतै देखिनँ। त्यहाँ आफ से आफ पैसा फल्ने कुनै बोट थिएन। प्रायः सबै मानिसहरूमा हतार र व्यस्तता मात्रै देखेकी थिएँ।

महिलाहरू रेलमै मेकअप गर्दै हुन्थे। सायद उनीहरू धेरै हतारमा निस्कँदा हुन्। यात्रीले रेलमै खानेकुरा खाँदै गरेको पनि देखेकी थिएँ। अनि त्यहाँ भेटिएका नेपालीको चेहरामा कुनै किसिमको उमङ्ग र खुसी भेटिनँ। कुनै समय पि.आर.वाला केटा पाउने केटीहरूलाई संसारकै भाग्यमानी नारी ठान्ने मान्छे म आजभोलि किन पि.आर.प्रति यति धेरै आशक्त भएका होलान् जस्तो लाग्छ।

अहिलेसम्म पनि कति जनाले भन्नुहुन्छ, ‘वुद्धि नभएकी केटी, युरोप पुगेर नि फर्केर आई, लुक्नुपर्थ्यो नि उतै?’, यस्ता कुराको जवाफ दिन आवश्यक ठान्दिनथेँ। कुरा अन्त्यै मोडिदिन्थेँ। उनीहरूलाई थाहा थिएन क्यारे, अरूलाई पि.आर.को क्रेजभन्दा मलाई नेपालमा नै पत्रकारिताको क्रेज बढी छ भनेर।

***

गाडी घाच्चघुच्च गर्दै अगाडि बढिरहेको थियो।

थानकोट उकालो कटेर काठमाडौं प्रवेश गरिसकेका थियौं। सहयात्री केटीहरू पि.आर.वालाकै कुरा गरेर थाकेका थिएनन्।

‘ओई , कहिले आउने रे त तेरो पि.आर.वाला केटा नेपाल?’

‘टिकट फिक्स भईसक्यो रे, यही हप्ता आउने रे।’ उसले जवाफ दिई ।

‘फेरि उसले अन्तै बिहे गर्ला अनि यो डल्ली हेरेको हेर्‍यै होली नि।’

‘ढुक्क भए हुन्छ, अन्त हुन्न। फागुनमै इंगेजमेन्ट गरेर वैसाखमा बिहे गर्ने रे, कपडा सिलाएर राख भनेको छ,’ फुरूक्क हुँदै उसले भनी । अहिले फागुन त सकियो, सायद उसको इंगेजमेन्ट पनि भयो होला।

अर्कीले थपी ‘बाफ रे ! कुरा यतिसम्म अगाडि बढिसकेको रैछ त? लक्की रैछे मोरी ! बधाई छ तलाई!’

एउटी अलि फरक सोचकी लाग्यो अरूभन्दा।

‘पैसा अनि पि.आर. ठूलो होइन, तेरो ब्वाईफ्रेन्ड छ, उसले तँलाई धेरै माया गर्छ, एकपटक सोच् यार्,’ अलि गम्भीर भएर उसले सम्झाउने शैलीमा भनी।

‘कतिपटक भन्नु तँलाई । त्यो केटाले माया गर्छ थाहा छ, तर उसको न जागिर छ, न पैसा । पि.आर.वालासँग बिहे गर्दा ईज्जत पनि त हुन्छ क्या।’

भनिन्छ मायामा कुनै तुलना हुँदैन। हुँदोरहेछ त। सायद उसको माया चोखो थिएन। ऊ पि.आर.वालाहरूबाट सहजै प्राप्त हुनसक्ने भौतिक विलासलाई धेरै माया गर्न चाहन्थी। अनि यो समाजलाई देखावटी सुख र देखावटी खुसीमा आफूलाई राखेर भाग्यमानी नारी सावित गर्न चाहन्थी।

यसकारण होला, ऊ कसैको चोखो प्रेम कुल्चिएर पि.आर.वालासँग विवाह गर्न मानसिक रूपले तयार थिई। सायद उसलाई थाहा थिएन चोखो माया गर्नेहरू प्रेम छुट्दा पागलजस्तै हुन्छन्। मानसिक रूपले विक्षिप्त हुन्छन्।

मुर्छित हुन्छन्। आफ्नो चोखो प्रेम बिनाकारण गुम्दा विरही बन्छन्। प्रेम गर्नुलाई अझै पनि अपराध सम्झने यो समाजको अगाडि देखाउन पो भएन त । नत धीत मरून्जेल रून नै सकिन्छ । परेलीभित्र लुकाइएका पीडाहरू एकान्तमा पुग्ने बित्तिकै छचल्किएर आँसु बनेर बग्छन्। सोचेँ, बिचरा पैसा नहुनू, पि.आर. नहुनुमा त्यो केटाको के दोष थियो होला र? कति बेरोजगार केटाहरुले रोजेको प्रीतीको फूल फर्कन नपाउँदै चुटिए होलान् है यसरी नै। कति पिआरधारीहरुले कतिको चोखो प्रेमहरु खोसिदिए होलान् यसरी नै।

अझै कत्तिका खोसिदै जालान् । सायद धेरै पिआरधारीहरुलाई थाहा नहुन सक्छ मैले कसैको प्रीतीको फूल चुडेँर जिन्दगी रंगिन बनाउँदै छु।

 प्रगति ढकालकाे लेख सेतापाटी अनलार्इनबाट साभार गरिएकाे हाे ।