बालिकाको सुन लुट्ने प्रयास, भाग्दा भिरबाट लडेर मृत्यु

  • १८ चैत्र २०७४, आईतवार
  • 2049 पटक पढिएको

पर्वत, १७ चैत्र । कुश्मामा एक बालिकाको सुन लुट्ने प्रयास गर्दा एक युवकको मृत्यु भएको छ । बालिकालाई ललाईफकाई गरेर सुन लुट्ने प्रयास गर्दा स्थानीयवासीले देखेपछि लुट्न आएका ती युवक बालिकालाई छाडेर भएका थिए । बागलुङ नगरपालिका वडा नं १, रामरेखाका ३६ वर्षीय भूपेन्द्र रुचालको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भीरबाट खसेर मृत्यु भएको हो ।

कुश्मा नगरपालिका–४ चाक्लेडिल नजिकै बस्दै आएकी निशा परियारकी साढे २ बर्षिय छोरी सुवानी परियारलाई एक अपरिचित व्यक्तिले लाँदै गरेको देखेपछि अपहरणको आशंका गर्दै हारगुहार गर्दा युवा भाग्न खोज्दा भीरबाट खसेकोे स्थानीयवासीले जनाएका छन् ।

कुश्मा नगरपालिका–४ चाक्लेडिल नजिकै बस्दै आएकी निशा परियारकी साढे दुई वर्षीया छोरी सुवानी परियारलाई नजिकै खोल्सामा मुख थुनेर राखेको र बच्चा रोइरहेको स्थानीयवासी चिरञ्जीवी केसीले देखेका थिए । केसीले सोधखोज गर्न थालेपछि मृतक रुचाल भाग्न खोज्दा भिरबाट खसेका थिए ।

बालिका छाडेर भाग्ने क्रममा भिरबाट खसेका ती युवा भिरबाट २०० मिटर तल पुगेका थिए । भिरबाट उद्धार गरी पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको पर्वतका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

भिर र वरपर खोजी गर्दा करीब एक घण्टापछि चाक्लेडिल भिरको करीब २०० मिटर तल फेला परेका थिए । मृतकको शव परीक्षणका लागि प्रहरीले जिल्ला अस्पताल पर्वतमा राखेको छ ।

खोल्सामा बच्चालाई रोइरहेको र एकजनाले मुख थुनेर बसेको देख्नुभएको थियो स्थानीयवासी वृद्ध चिरञ्जीवी केसीले । उनले भने, ‘म घाँस काट्न बाटोमा हिँड्दै थिएँ । तल खोल्साबाट बच्चा रोएको सुनेँ । यसो हेरेको त तल कसैले नदेख्ने भड्खालोमा लगेर त्यो मान्छेले बच्चाको मुख थुनिरहेको थियो । बच्चा रोइरहेकाले मैले छेउमा निस्केर हेर्दा उसले मलाई देख्यो म तल ओर्लेर बच्चा ल्याएँ, ऊ त्यहीँबाट यताउता भाग्न खोज्दै थियो, त्यसपछि देखिएन ।’

बालिकाकी आमा निशा परियार भन्छिन्, ‘एउटा नचिनेको मान्छे घर वरपर चार पाँचपटकसम्म यताउता ग¥यो । मलाई शुरुमा नै यस्तो मान्छे किन आएको होला ? भनेर सोचेकी थिएँ । म अलिअलि बिरामी भएर सुतिरहेकी थिएँ । छोरी र अन्य दुईजना बच्चा बाहिर खेलिरहेका थिए । उसले त्यही बेलामा छोरीलाई तल भिरमा लगेछ ।’

उक्त व्यक्तिले ती बालिकालाई घरबाट लिएर भाग्नुभन्दा झण्डै आधा घण्टा पहिला केही पर रहेको एक पसलबाट बियर चोरेर हिँडेको पनि खुलेको छ । व्यापारी लक्ष्मी क्षेत्री भन्छन्, “पसलमा आउँदा दुईजना केटा पनि साथमा लिएर आएको थियो । ती बच्चालाई हिँड मलाई गुम्बा देखाइदेउ भन्दै थियो, तर ती बच्चाले नाइँ हामी गुम्बामा जाँदैनौँ भनेपछि उनीहरुलाई फ्रुटी किनेर हामीलाई पैसा दियो, पैसा राख्न लागेको बेलामा बियर नै चोरेछ पछि थाहा पाएर पिछा गर्दै भेटृाएर पैसा माग्यौँ ।”

यता, जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी दिलीप घिमिरे बालिका अपहरण भन्दा पनि ती युवक लुटपाटको उद्देश्यले त्यहाँ पुगेको बताए । रातोपाटीसँग कुरा गर्दै घिमिरेले भने, ‘पहिले पनि तीन युवकले दुईजना बालकहरुलाई बिस्कुट चकलेट दिएर गुफा देखाईदेउ भनेर भनेको रहेछ । पछि ती बालिकालाई कानको मुन्द्री लुट्ने हिसाबले गुफातिर लान खोजेको रहेछ । त्यतिबेला मान्छेले देखेर हो–हल्ला गरेपछि उसले बालिकालाई छाडेर भाग्यो । अरु मानिसहरुले बालिकाको रेस्क्यु गरे ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी त्यहाँ पुगेर खोज्दा भिरबाट खसेर उसको मृत्यु भएको भेटियो । उसको साथमा फेला परेको मोवाईल पनि चोरीको रहेको प्रहरीले बताएको छ । ‘अर्काको मोवाईल चोरेर भागेको रहेछ । अन्यको हुलिया खुलेको छैन,’ घिमिरले भने ।

-रातोपाटी