कुटपिटपछि वडाध्यक्षको मृत्यु

  • १७ चैत्र २०७४, शनिबार
  • 2149 पटक पढिएको

विराटनगर, १७ चैत । स्थानीय बासिन्दाको कुटपिटपछि बिरामी परेका पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको भएको छ ।

हिलिहाङ-७ स्थित तम्फुला सडक आयोजनाको अनुगमनका क्रममा स्थानीय भीम योक्पाङदेन र उनका छोरा सुवास योक्पाङदेनले तिम्सिनालाई चैत ११ गते कुटपिट गरेको प्रहरीले जनाएको छ ।

त्यसपछि बिरामी परेका वडाध्यक्ष तिम्सिनाको शुक्रबार साँझ मृत्यु भएको हो । सडक निर्माणका क्रममा स्काभेटर लगाउँदा घरमा जोड्ने बिजुलीको तार छिनेको विषयलाई लिएर तिम्सिनालाई कुटपिट गरिएको थियो ।

तिम्सिनाले बिहीबार आफूमाथि भएको कुटपिटको विषयमा पीडकमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दर्ता गराएका थिए । आफूलाई सार्वजनिक स्थलमा छातीमा समातेर पछार्दै कुटपिट गर्नुका साथै अपशब्द प्रयोग गरेको उनले उजुरीमा उल्लेख गरेको प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विज्ञान बस्नेतले बताए ।

कुटपिटपछि शारीरिक र मानसिक रुपमा कमजोर भएका उनलाई उपचारका लागि फिदिमस्थित पाथीभरा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट चिकित्सकले रेफर गरेपछि उपचारका लागि झापा लैजाँदै गर्दा इलामको नेपालटार पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । तिम्सिनाको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याइएको छ ।

यसैबीच, हिलिहाङ गाउँपालिकाले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

-कान्तिपुर