नेपाली कथाको नयाँ मोड : पूर्वी कथा सङ्ग्रह

  • १५ चैत्र २०७४, बिहीबार
  • गोपाल भुसाल, पर्वत
  • 4709 पटक पढिएको

सानैदेखि साहित्यमाझ रुचि राख्ने भाइ श्रीकृष्ण भुसाल (घायलश्रीबाट परिचित) सँग म सानैबाट परिचित थिएँ । उनको साहित्यिक यात्रामा प्रकाशित पहिलो कृति “नवी नमुना”ले पनि पाठकको मन जितेको थियो । लामो समयको अन्तरालपछि प्रकाशित घायलश्रीको “पूर्वी” कथा सङ्ग्रह मलाई सप्रेम उपहार पठाएको भोलिपल्ट नै मनमा कौतुहल जागेर पढ्ने वसँे ।

व्यस्त समयलाई अलिकति मिलाएर पढ्दै जाँदा पहिलो कथाले नै मन छोयो । तिम्री स्वास्नी कथाले धेरै नेपाली युवाहरुको प्रतिनिधित्व गरेको रहेछ । प्रेम र जीवनको सास्वत मूल्य नबुझी अल्लारे प्रेमको खाडलमा परेको असफल प्रेमीको कथा नै तिम्री स्वास्नी कथाको निचोड हो । नारी संवेदनाको महत्व हुँदा हुँदै पनि अल्लारे प्रेमबाट दुर्घटित बनेको तिम्री स्वास्नी कथाले आजको युवा जमातमा देखिएको स्वार्थी प्रेमलाई गतिलो झापड दिएको छ । मझौला आकारको यो कथा नेपाली कथा साहित्यको इतिहासमा एउटा इट्टा थप्न सफल भएको छ ।

कथाकारको दोस्रो कथा “यात्रा” ले समग्र मानवजीवनको यात्रालाई संकेत गरेको छ । गन्तव्यविहिन यात्राको यात्री म पात्रले सन्तोषीसँगको क्षणिक प्रेमलाई आफ्नो जीवनको रुपमा हेरेको छ । तर सन्तोषी एउटी असफल प्रेमिका र जीवनको असफल यात्री बनेकी छे । उसले नत जीवनको मूल्य बुझ्न पाई न त आफ्नो प्रेमीलाई नै पाउन सकी । बद्लामा मृत्युमात्र उसको हातमा प¥यो ।

सन्तोषीका यी भनाइले म पात्रको असफल जीवनलाई यसरी प्रतिनिधित्व गर्दछन् । “तपाई त बाटो मुनिको सुगन्धहिन फूल हो रे जुन अब चाहेर पनि सन्तोषीले मन्दिरमा चढाउन सक्दिन ।” यस यात्रा कथाले जिन्दगीको यात्रालाई संकेत गरेको छ । जीवनको यात्रामा अनेकौं यात्री भेटिन्छन् तर तिनीहरुको खास महत्व रहन्न । खास समयमा भेटिएका खास यात्रीको मात्र विशेष महत्व रहन्छ । म पात्रको यात्रामा भेटिएकी सन्तोषी पनि म पात्रको लागि खास पात्र हो । यात्रा कथाले यसैलाई संकेत गर्न खोजेको छ ।


पूर्वी कथा नेपाली कथा साहित्यमा एउटा उत्कृष्ट कथाहरुको लहरमा अटाउन सक्ने कथा हो । पूर्वी कथाका कान्छो जस्ता पात्रहरु हाम्रै घर आँगनका सदस्य हुन् । एउटा पुरुष मन जहाँ एउटा कुनामा अहंकार पनि वसेको हुन्छ भन्ने कुरा कान्छोको विचारबाट प्रकट हुन्छ । कान्छो भन्छ– “एउटा सानोे इगो मेरो पुरुष मनले सहन सकेन ।” उसको यो अभिव्यक्तिले समाजका त्यस्ता पुरुषहरुको प्रतिनिधित्व गर्छ जसले पुरुषलाई एटा हैकमवादी र अहंकारी सम्झन्छ । के कान्छोकी श्रीमतीलाई बच्चा जन्माउने र मातृत्व पोख्ने हक छैन र ? कान्छोकी श्रीमती जस्ता पात्रहरु बर्गीय पात्र हुन् । आफ्नो कमजोरीलाई व्यवस्थापन गर्न नसकेको परिणाम नै कान्छोको मृत्यु हो । अब मान्छे परिस्थिति अनुसार परिवर्तन पनि हुन सक्नुपर्छ भन्ने सन्देश दिनु यस कथाको उद्देश्य हो ।

बाबा कथाले जीवनलाई युद्धको रुपमा प्रस्तुत गरेको छ । जीवन संघर्षले भरिएको छ । अनेकौं बाधा अवरोधलाई पन्छाएर आजको मानिस हिड्नु परेको छ । संघर्षमा होमिन नसक्नेहरु सधैं हारेका छन् । मैदानमा उत्रनेहरु एकदिन त अवश्य नै सफल हुन्छन् । यही वास्तविकतालाई बाबा कथाले जीवन्त बनाएको छ । बाबा कथाले प्रेमलाई एउटा जीवन जिउने आधारको रुपमा उभ्याएको छ । पाको उमेरमा गरिएको प्रेमको मर्मलाई प्रस्तुत गरेको यो कथा नेपाली कथा साहित्यमा एउटा नविन प्रयोगका रुपमा पनि लिन सकिन्छ । बाबा र शिताष्मा जस्ता धेरै पात्रका लागि यो एउटा उर्जा हो ।

प्रेमका सयौं रुपमध्ये झल्लु कथाको अग्रज र इन्द्रेणीको प्रेम एउटा अमूर्त र प्राकृतिक प्रेम हो । बाबुआमा दुवैलाई गुमाएपछिको सन्नाटालाई एकै सासमा साथ दिन इन्द्रेणी तयार भएकी छे । इन्द्रेणीको कल्पनाले सधै झगडा खोजिरहन्छ । तर अग्रजको विदेश गमनले इन्द्रेणीको मुटुमा भक्कानो छुट्छ । उसले चाहेर पनि सामाजिक मूल्य मान्यता संस्कार एवम् परम्परालाई कुल्चेर दुवैजनालाई एकै ठाउँमा पु¥याउने अवस्था रहँदैन र झल्लुले इन्द्रेणीकै बाबुसँग ऋण गरेर विदेसिन्छ । अग्रजको आम गरिवीमा बाँच्नु परेका र ऋण खोजेर विदेसिनु परेका धेरै नेपाली युवाहरुको प्रतिनिधित्व गरेको छ ।

निचोडमा भन्नुपर्दा घायलश्री नेपाली कथा यात्राका एक उदियमान नक्षत्र हुन् । उनको परिष्कृत भाषाशैली र ओजपूर्ण अभिव्यक्तिले कथालाई निकै उत्कृष्ट बनाएका छन् । विषयवस्तु अनुसारको पात्र चयन र पात्र अनुसारको बातावरणले कथालाई झनै रोचक र मर्मस्पर्शी बनाएको छ । यो नै कथाकारको निजी प्रबृत्ति हो ।

गोपाल भुसाल, पर्वत