एएफसी एसिया कप छनौट चरणको अन्तिम खेलमा नेपाल पराजित

  • १५ चैत्र २०७४, बिहीबार
  • तिलु शर्मा पाैडेल
  • 2371 पटक पढिएको

दोहा कतार आगामी बर्ष युएईमा हुने एएफसी एसिया कप २०१९ को छनौट चरणको अन्तिम प्रतिष्ठाको खेलमा नेपालले हार बेहोरेको छ । समूह ‘एफ’ मा रहेको नेपाल भने यसअघि नै समूह चरणबाट बाहिरिइसकेको थियो भने काठमाडौँमा भएको पहिलो यमनविरुद्धको खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो । कतारको दोहा स्थित सुहेम विन हमाद रंगशाला (कतार स्पोर्ट्स क्लब) मा मंगलबार सॉझ भएको यमनविरुद्धको दोस्रो फुटबल खेलमा नेपालको विजय लक्ष्यलाई यमनले १ का बिरुद्द २ गोलले रोकेको हो ।

खेलको २४ औ मिनेटमा यमनका अब्दुलवासि अल मतारिले गोल गरे पछि यमनले अग्रता लिएको थियो भने खेलको ४५ औ मिनेटमा बिसाल राईको पासलाई नवयुग श्रेष्ठले हेड गर्दै गोल गरि मध्यान्तर अघि खेललाई बराबरिमा ल्याएका थिए । मध्यान्तर पछि आफ्नो खेललाई केहि आक्रामक बनाउदै खेलेको नेपालले गोल गर्ने केहि राम्रा अबसरहरु गुमाएको थियो । खेलको ८३ औ मिनेटमा नेपालका खेलाडि बिराज राईले यमनका खेलाडि मोहसेन हसनलाई डि बक्स भित्र पछाडिबाट तानेर लडाए पछि पाएको पेनाल्टिलाई अब्दुलवासि अल मतारिले गोलमा परिणत गरेपछि यमनले आफ्नो जितलाई नजिक ल्याएको थियो ।

निकै आक्रामक खेलेको नेपालले त्यस पछि भने कुनै गोल गर्न सकेन । सदाझै लङ पास र किक मा नेपाल कमजोर साबित रहेको दर्शकको प्रतिक्रिया थियो । ७५०० भन्दा बढि दर्शक उपस्थित खेलमा करिब ५००० को सङ्ख्यामा नेपालिहरु रहेका थिए । बिराज महर्जनको कप्तानिमा मैदानमा उत्रेको टिममा किरण चेम्जोङ गोल किपर रहेका थिए भने डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी र दिनेश राजवंशी थिए । त्यसैगरी मिडफिल्डरमा अञ्जन विष्ट, रोहित चन्द, विशाल राई, सुनिल वल, तथा स्ट्राइकरमा विमल घर्ती मगर र नवयुग श्रेष्ठ रहेका थिए । टोलीको मुख्य प्रशिक्षकमा ग्योतुकु कोजी, प्रशिक्षकमा राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षकमा उज्ज्वल मानन्धर रहेका थिए ।

छनोट चरणमा पाँच खेल खेलेको नेपालले दुई खेलमा बराबरी र बाँकी खेलमा पराजित भएको थियो । यो नतिजासँगै समूह एफबाट फिलिपिन्स र यमन आगामी बर्ष युएईमा हुने एएफसी एसियन कपका लागि छनौट भएका छन् । फिलिपिन्स १२ अंकका साथ शिर्ष स्थानमा छ भने १० अंक जोडेको यमन दोस्रो स्थानमा छ । त्यस्तै ७ र २ अंक जोडेका ताजिकिस्तान र नेपाल भने क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै प्रतियोगिताको समापन गरेका छन् ।

तिलु शर्मा पाैडेल