राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गर्ने ‘मेडिकल ड्रोन’ म्याग्दीबाट परिक्षण गरिने

  • १२ चैत्र २०७४, सोमबार
  • 4694 पटक पढिएको

म्याग्दी, १२ चैत । राष्ट्रिय आविष्कार केन्द्रले दुर्गम गाउँ बस्तीमा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने ‘मेडिकल ड्रोन’ निर्माण गर्न लागेको छ । केन्द्रको काठमाण्डौ स्थित अनुसंधान प्रयोगशालामा अहिले उक्त मेडिकल ड्रोनको निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ ।देशमै रहेका सिर्जनसिल प्रतिभाहरुको उपयोग मार्फत नयाँ नयाँ प्रविधिको विकास गरि मुलुकको विकास र समृद्धिमा टेवा पु¥याउने उदेश्यले स्थापना भएको केन्द्रले आफ्नो पहिलो आविष्कारको रुपमा मेडिकल ड्रोन निर्माण गर्न लागेको हो ।

मेडिकप्टर नाम दिईएको उक्त स्वचालित मानवरहित ड्रोन निर्माण कार्य तिब्र गतिमा भएको र आगामी अप्रिल दोस्रो सातासम्म निर्माण सकेर पहिलो परिक्षण उडान म्याग्दीबाट गरिने केन्द्रका अध्यक्ष डाक्टर महाविर पुनले बताउनुभयो । परिक्षण उडान सफल भएपछि गृहमन्त्रालयको अनुमती लिएर स्वास्थ्य मन्त्रालयसंग समन्वय गरि नेपालको दुर्गम गाउँबस्तीहरुमा औषधी ढुवानी एवम विभिन्न समयमा फैलिने महामारीको समयमा रोग पहिचान गरि समयमै औषधी पु¥याउने कार्यमा मेडिकल ड्रोनलाई प्रयोगमा ल्याईने अध्यक्ष पुनले बताउनुभयो ।

 

उहाँका अनुसार दुर्गम क्षेत्रमा औषधी अभाब भएको समयमा तुरुन्त औषधी पु¥याउन सकिने उक्त ड्रोनले महामारीको समयमा विरामीको रगत, दिसा, पिसाब लगायतको नमुनालाई सुविधायुक्त स्वास्थ्य केन्द्र सम्म पु¥याएर समयमै रोग पहिचान गरि उपचारमा सहयोग पु¥याउनेछ । अहिले यस केन्द्रले ८ वटा पंखा भएको र पखेटा भएको जाहाज मोडलको दुई किमिको ड्रोन निर्माण गरिरहेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको नांगी गाउँमा जन्मिएका पुन अमेरिकामा उच्च शिक्षा हासिल गरेपछि बेतारे इन्टनेटर मार्फत दुर्गम क्षेत्रमा इन्टरनेट, टेलिमेडिसिन, कृषि, पर्यटन लगाएतका क्षेत्रमा सक्रिय छन् । सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको लागि अहिले स्वच्छीक आर्थिक सहयोग संकलन अभियानमा समेत व्यस्त छन् ।  तस्बिर साभार ः www.nepalitimes.com