आध्यात्मको नजरमा रामभक्त हनुमान

  • ११ चैत्र २०७४, आईतवार
  • 2729 पटक पढिएको

हिन्दु राष्ट्रको आध्यात्मिक र पौराणिक साहित्यमा अनेकानेक विर, धिर, सशक्त, दिव्य एवं चमत्कारिक चरित्रको वर्णन गरिएको पाईन्छ। यिनै चरित्रवानलाई प्रतिदिन जीवनमा मनुष्यले इष्ट मानेर पुजा–अर्चना गर्ने गर्दछन्। उनिहरुबाट शक्ति र प्रेरणा ग्रहण गर्दछन्। यिनै चरित्रमा एउटा अत्याधिक प्रसिद्ध चरित्र हो श्री हनुमान जी को, जो ईश्वर भक्ति, ईश्वर सेवा र ईश्वरको प्रति बफादारी को साक्षात स्वरुपमा देखिन्छन्। देश–विदेशका अधिकतम घरहरुमा श्री हनुमानको मूर्ति प्रतिदिन पुज्ने गर्दछन् र ठाउँ–ठाउँमा उनको अनगिनत मन्दिर पनि निर्माण भएका छन्।

जन–जनको दिलमा स्थान पाउनेवाला हनुमान जी को पुजा–अर्चना गर्नु उनको प्रति श्रद्धा गर्नुको निशानी हो भने उनको चरित्रीक गुणहरुबाट प्रेरणा लिनु, उनमा भएका गुणहरुलाई आफ्नो जीवनमा आत्मासाथ गर्नु यो आफ्नो जीवन परिवर्तन गर्ने आधार हो। आज यस्तो महान चरित्रको चारित्रीक गुणहरुको प्रकाशद्वारा हामी स्वयंलाई प्रकाशित गर्ने प्रयास गरौ। हनुमानको जन्म पूर्णमासीलाई मानिएको छ। पूर्णिमाको मास स्रोहकला सम्पूर्ण र सम्पूर्ण प्रकाशको प्रतिक हो। यस्तो प्रकाश जो केबल स्वयंको लागि मात्र होइन तर सम्पूर्ण विश्वलाई प्रकाशित गर्नको लागि हो।

जसलाई परमात्माको साथद्वारा विश्वको उद्वार गर्ने सेवा गर्नुछ, उसको जन्म ‘सर्वजन हिताय, सर्वजन सुखाय’ हुन्छ। त्यसैले पूर्णमासीको जन्म दिनको रहस्य पनि यहि हो की त्यो जन्म आत्मिक प्रकाश संपूर्ण विश्वको हितको लागि हो। पौराणिक चरित्रका अनेक नामले आफू भित्र, आ–आफ्नो गुणहरुलाई समाहित गरेका छन्। हनुमानको पनि कर्म अनुसार अनेक नाम छन् तर सर्वाधिक प्रचलित नाम ‘हनुमान’ शब्दको अर्थ हो – मान तथा शानलाई त्याग(हनन) गर्ने अर्थात् मेरो र मेरोपनलाई त्याग गर्ने। जसले मेरो र मेरोपनलाई त्याग गर्दछ ऊ नै ईश्वरको सच्चा सेवाधारी बन्न सक्दछ।

किंवदन्ती अनुसार हनुमानले बचपनमा सुर्यलाई निलेका थिए। हामीहरुले जान्दछौ कि पृथ्वी, चन्द्रमा, सुर्य जस्ता ग्रह, उपग्रह, नक्षत्र, ताराग्रह इत्यादी मानव जीवन लगायत जीव प्राणीहरुको जीवन संचालनको आधार हुन्। वैज्ञानीकहरुले चन्द्रमामा पाइला टेकिसकेका छन् र उसको बारेमा यथार्थ जानकारी पनि हासिल गरेका छन्। अतः यो कुरा सबैलाई थाहा छ कि सुर्य, चन्द्रमा आदि कोइ देव प्राणी होइनन्। आध्यात्मिक भाषामा भगवानलाई पनि ज्ञान सूर्य भनिएको छ। जसरी सूर्यले सम्पूर्ण जगतलाई रोशनी दिएको छ, त्यसरी नै ज्ञान–सूर्य परमात्मा पनि सम्पूर्ण जगतको पालक, रक्षक तथा मार्गदर्शक हुनुहुन्छ। उहाँ ज्ञानको सागर हुनुहुन्छ, सर्व सकरात्मक गुणहरुको सागर हुनुहुन्छ। लाखौं डिग्री तापमान वाला र पृथ्वी भन्दा कैयौ गुणा ठूलो सूर्यलाई हनुमानले निलेको कुरा होइन, वास्तवमा यसको अर्थ आध्यात्म जीवनको बाल्यकालमा नै ज्ञान–सूर्य परमपिता परमात्मा शिवको समस्त गुण, ज्ञान, शक्तिहरुलाई आफूमा ग्रहण तथा आत्मसात् गर्नु हो।

ज्ञानसूर्य परमात्माको ज्ञान, गुण, शक्तिह्ररुलाई आफ्नो बुद्धिमा समाहित गर्ने वाला हनुमान अनेक आध्यात्मिक शक्तिहरुले सु–सम्पन्न रहे तर आफ्नो जीवनकालमा कुनै भूलको कारण उनलाई यस्तो श्राप मिल्यो कि ‘जब समय बित्दै जान्छ तब आफ्नो अनेक शक्तिहरुलाई भूल्दै जानेछौ र कसै द्वारा याद दिलाएमा सो शक्तिहरु पुनः जाग्रीत हुनेछन्।’ हामीलाई थाहा छ कि श्राप दिने कार्य कुनै श्रेष्ठ व्यक्तिले गर्न सक्दैन। श्राप अर्थात् घृणा गर्ने वाला त शत्रु(माया) हो। मायारुपी दु्श्मन अर्थात् पाँच विकार, जसको राज्य द्वापरयुगदेखि सुरु हुन्छ। द्वापरयुग शुरु हुँदा नै मायाद्वारा श्रापीत भएर हाम्रो श्रेष्ठ आत्मा आफ्नो शक्तिलाई भूलेर कमजोर बन्न पुग्दछ। तर द्वापर र कलियुगको पछि जब संगमयुग सुरु हुन्छ तब स्वयं परमात्मा शिव भगवान ब्रह्माको साकार तनमा धर्तिमा अवतरण गर्नुहुन्छ। यस्तो श्रेष्ठ आत्मा ईश्वरीय संग पाएर मायाको श्रापबाट मुक्त हुन पुग्दछ र उसमा आफ्नो सम्पूर्ण आध्यात्मिक शक्तिहरुको, गुणहरुको स्मृति आउँदछ, जसको बलबाट उसले असंभव लाग्ने सेवा(कर्म) लाई पनि ईश्वरीय सहायताबाट संभव गर्न सक्दछ।

पौराणिक साहित्यमा समुन्द्र नाघेर सितालाई खोज्न जानुको अर्थ पनि यही हो कि कलियुगको अन्तमा ईश्वर प्रेमी आत्माहरु कैयौ समुन्द्र पार गरेर अन्य राष्ट्रहरुमा आध्यात्म प्रेमी आत्मा(सिता) हरुको खोजी गर्नका लागि जान्छन्। भिन्न भाषा, भिन्न धर्म, भिन्न संस्कृति भएका यस्ता आत्माहरुलाई ईश्वरीय सन्देश दिनको लागि विशाल समुन्द्र पार गरेर जानु एक ठूलो साहसको कार्य हो। त्यसैले हनुमानलाई पनि महाविरको टाइटल दिएका छन्। त्यस्तै हनुमान एक अटुट ईश्वरीय प्रेमको प्रतिकको रुपमा पनि देखिन्छन्। जसलाई भगवान सँग अटुट प्रेम हुन्छ तब उसलाई त्यस प्रेम सिवाय अन्य कुनै कुरा पनि मनमा सुझ्दैन। उसले यस्तो चिजको खोज गरिरहेको हुन्छ, जहाँ उसलाई ईश्वरीय प्रेमको अनुभूति होस्। भनिन्छ जब सिताले सबैलाई उपहार दिने क्रममा हनुमानलाई पनि हिराको हार दिएकी थिइन्। तर हनुमानले त्यो मालाको एक–एक दाना दाँतले टोकेर छुटाउँदै फ्याक्दै गर्छन्। जब उनलाई यस प्रति प्रश्न गर्दा भन्दछन्– ‘ यि कुनै पनि दानामा मैले श्रीरामलाई देखिन, जहाँ श्रीराम छैन त्यो कुनै पनि कुरा मेरो लागि कुनै पनि कामको छैन।’

हनुमानको भगवानमा यस्तो दृढ आस्था थियो कि श्रीरामको अगाडि जुनसुकै बहुमूल्य वस्तु पनि पत्थर समान थियो। यस्तो भगवान प्रतिको अटुट निश्चयले आत्मालाई मायाजित, प्रकृतिजित वा विकारजित बनाउँछ। हनुमानको हृदयमा श्री सिता–रामको वास देखाइएको छ। हृदय भावनाको स्थान हो। वास्तवमा मन, बुद्धि र संस्कारमा ईश्वरीय स्मृतिको रंग लाग्नु नै ईश्वरलाई दिलमा बसाउनु हो। हनुमानले संकल्प–संकल्पमा, स्वास–स्वासमा श्रीरामलाई याद गरेका छन्, त्यसैले उनलाई अव्यभिचारी याद तथा एक बल, एक भरोसा को प्रत्यक्ष प्रतिमूर्तिका रुपमा जानिन्छ। त्यस्तै हनुमानको महिमा गाउँदा संकटमोचन र भूत–प्रेतलाई भगाउनेवाला भनेर पनि गायन गरिन्छ। हाम्रो जीवनमा पाँच विकार (काम, क्रोध, लोभ, मोह, अहंकार) सबैभन्दा ठूला भूत हुन् जसले सारा सृष्टिलाई नै दुःखको जालमा पारेको छ। जब यी पाँच विकार जीवनबाट हटेर जान्छन् तब अन्य भूत–प्रेत पनि नजिक आउन सक्दैनन्।

हनुमान जस्ले आफ्नो जीवनमा यी पाँच विकार वा यि विकारहरुको अंशको पनि कुनै स्थान राखेका छैनन्। जो स्वयं भूतहरुबाट मुक्त छ उसले नै अन्यको भूतहरुलाई पनि भगाउन सक्छ। हनुमानले बेहोस बन्न पुगेका लक्ष्मणलाई पनि संजिवनी बुटी ल्याएर ब्युताएको दृष्टान्ट रहेको छ। लक्ष्मणको अर्थ हुन्छ आफ्नो लक्ष्यमा मनलाई टिकाइरहनु। लक्ष्मण मुर्छित हुनुको अर्थ लक्ष्यबाट मनलाई अन्यत्र भट्काउनु। आध्यात्मिक पुरुषार्थमा जब कुनै महारथीको मन लक्ष्यबाट भट्किन जान्छ तब उसलाई पुनः सुरजित गर्नको लागि ज्ञान रुपि संजिवनी वुटीको आवश्यकता पर्छ। हनुमान(मान र अभिमानलाई त्याग गर्नेवाला आत्मा) ले ज्ञानरुपी संजिवनी बुटी दिएर त्यस लक्ष्य बिमुख आत्मालाई पुनः लक्ष्योन्मुख गरिदिए। यो नै संजिवनी बुटीको आध्यात्मिक रहस्य हो।

पहाड उठाउनु अर्थात् असम्भव कार्यलाई पनि सहजतासँग गर्नु। यो मायावी दुनियाँमा मायाबाट बेहोश आत्मालाई सुरजित गर्नको लागि पहाड उठाउने जस्तो परिस्थितिलाई पनि पार गर्नु पर्छ। हनुमानले यस्तो असम्भव कार्य पनि सहज रुपमा सम्पन्न गरेको दृष्टान्तमा देखाइएको छ। हनुमानका यिनै चरित्रहरुको वर्णन गर्दा हामीले यहाँ थोरै मात्र लिन पायौ। जसको सागर अनगिनत छ। इष्टको उज्ज्वल चरित्रले नै साधकहरुको जीवन फूल समान खुशबुदार र गुणवान बन्दछ। त्यसैले परमात्माका अटुट प्रेमी हनुमानको पुजा गर्नु मात्र नभएर उनमा अन्र्तनिहित गुणहरुलाई आफूमा पनि धारण गर्ने पुरुषार्थ गरौ, यो नै हनुमान प्रति सच्चा भक्तिको स्वरुप हुनेछ।

राजयोगिनी ब्रह्माकुमारी रीना
बेनी, म्याग्दी