बनौ–देउराली–डाँडाखोर–लस्ती सडक अन्तरगत बनौ–पोखरी खण्डको ट्याक खुल्यो

  • १० चैत्र २०७४, शनिबार
  • 2265 पटक पढिएको

बेनी १० चैत । जलजला गाउँपालीका ९ बनौ देखि देउराली डाँडाखोर हुदै लस्ती जोड्ने सडक आयोजनाको बनौ देखि पोखरी खण्डको ट्याक खुलेको छ । सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको आयोजनाको बनौ देखि पोखरीसम्म जोड्ने तिन किलोमिटर पाँच सय मिटर सडकको ट्याक खुलेको हो । जलजला गाउँपालीकाको ७ र ८ नम्बर वडाको सिमा क्षेत्रमा पर्ने लस्ती बजारदेखि एकपाटे सम्म पाँच किलोमिटर सडक यसअघिनै निर्माण भएको छ ।

पोखरीतर्फ एकपाटेसम्म थप करिब तिन किलोमिटर सडक निर्माण भएपछि लस्ती बनौ सिधा सडक सञ्जालमा जोडिने वडा अध्यक्ष गौबहादुर पुनले बताउनुभयो । पोखरी गाउँमा सडक पुगेपछि स्थानीयबासीले शुक्रबार नाचगान गरेर खुसीयाली मनाएका छन् । बनौबासीलाई गाउँपालीकाको केन्द्रसम्म पुग्न घुमाउरो सडकको प्रयोग गर्नुपर्ने बाध्यता भएपछि स्थानीय तहको चुनाव लगत्तै जनप्रतिनिधिहरुले लस्ती बनौ सडक आयोजना सञ्चालनका लागि पहल गरेका थिए ।

अर्थमन्त्रालयले एक करोड ७० लाख रुपैया बिनियोजन गरेपछि सडक निर्माण कार्यले तिब्रता पाएको हो । डोजरको प्रयोग गरेर ठेक्का मार्फत ट्याक खनीएको सडकलाई दिगो बनाउन ग्यावियन र मेसीनरी पर्खाल लगाउने, सोलीङ गर्ने काम भैरहेको छ । छ देखि दश मिटर फराकीलो सडकको ट्याक खुलेपछि माईक्रोबस सञ्चालन गर्न सकिने वडा अध्यक्ष पुनले बताउनुभयो ।


यो सडक आयोजनालाई जलजला गाउँपालीकाले पनी चालु आर्थिक वर्षमा तिस लाख बिनियोजन गरेको छ । चार सय घरधुरीको बसोबास रहेको बनौका बासिन्दा गाउँपालीकाको सेवा लिनका लागि बनौ देखि १२ किलोमिटर कच्चि सडक भएर कुश्माको अर्मादी पुगेर मालढुङ्गा मिलनचोक हुदै घुमाउरो बाटोको प्रयोग गरी मल्लाज पुग्ने गरेका छन् ।


लस्तीदेखि बनौ जोड्ने सडक निर्माण भएपछि दुई घण्टाको यात्राअवघि ४५ मिनेटमा छोटीने, ढुवानी र यातायात भाडा घट्ने अपेक्षा गरीएको छ । एशियाली विकास बैङ्कको ३६ करोड रुपैया सहयोगमा ग्रामिण पुननिर्माण तथा पुनस्थापना कार्यक्रम अन्तरगत अर्मादीदेखि बनौ जोड्ने सडक कालोपत्रे योजना ठेक्का प्रक्रियामा रहेको वडा अध्यक्ष पुनले बताउनुभयो ।