क्षयरोग न्युनिकरणबारे बेनीमा अन्र्तक्रिया, रोग बाहिर आउने दर न्युन (भिडियो सहित)

  • १० चैत्र २०७४, शनिबार
  • 2849 पटक पढिएको

 

म्याग्दी, १० चैत । क्षयरोगको बारेमा सचेत नहुँदा क्षयरोगीहरुको संख्या न्युनिकरण हुन नसकेको बेनीमा आयोजित एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । विश्व क्षयरोग दिवसको अबसरमा जिल्ला स्वास्थ्य कार्यालयले शनिवार बेनीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले समयमै क्षयरोगको पहिचान गरि औषधी सेवन गरेमा रोग निको हुने भएपनि रोगबाट पिडित भएकाहरु उपचारको लागि नआउने, नियमित रुपमा औषधी सेवन नगर्ने समस्याहरु रहेको भन्दै जनचेतना फैलाउन आबश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा कार्यालयका क्षयकृष्ठ निरिक्षक मनिष महतोले म्याग्दीमा गत आर्थिक बर्ष २०७३÷०७४ मा ७५ जना क्षयरोगीको पहिचान गरि उपचार गरिएको बताउनुभयो । विभिन्न स्वास्थ्य समस्या लिएर स्वास्थ्य संस्थामा आएकाहरु मध्ये उनीहरुको स्वास्थ्यमा आएको लक्षण, खकार परिक्षण लगायतको माध्ययमबाट क्षयरोगबाट ग्रसित भएको पहिचान भएका मध्ये ३५ जनामा सर्ने र ४० जनामा नसर्ने प्रकारको क्षयरोगीहरुको पहिचान भएको र उनीहरुमध्ये ९४ प्रतिशतको उपचार सफल भएको थियो ।

चालु आर्थिक बर्षको दोस्रो चौमासिक सम्म जिल्लामा १४ जनामा सर्ने र ११ जना नसर्ने प्रकृतिको क्षयरोगीको पहिचान गरि उपचार गरिएको निरिक्षक महतोले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले यस बर्ष जिल्लामा ५६ जना सर्ने प्रकृतिको क्षयरोगबाट पिडित भएकाहरुलाई पहिचान गरि उपचार गर्ने लक्ष्य राखेको छ । हाल नेपालमा बार्षिक रुमा ५ देखि ७ हजार सम्मको यसै रोगबाट ज्यान जाने गरेको तथ्याङ्क छ ।

क्षयरोगबाट पिडित भएका १ व्यक्तिबाट बर्षमा १० जना सम्म थप संक्रमित हुन सक्ने खतरा भएकाले दुई हप्ता भन्दा बढी समयदेखि खोकी लाग्ने, खकारमा रगत देखिने, तौल घट्दै जाने, रातमा नियमित रुपमा ज्वरो र पसिना आउने, छाती दुख्ने जस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य परिक्षण गरि उपचार गर्न स्वास्थ्यकर्मीहरुको सुझाब दिएका छन् । म्याग्दीको ४१ वटै स्वास्थ्य संस्थाबाट यस रोगको औषधी निःशुल्क रुपमा उपलब्ध हुने गरेको छ भने बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, भुरुङ तातोपानी र शिख स्वास्थ्य चौकीमा क्षयरोग पहिचान गर्न सकिने व्यवस्था रहेको छ ।

कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले क्षयरोगको उपचार सम्भव रहेकाले यस रोगबाट पिडित भएकाहरुलाई स्वास्थ्य संस्थाको पहुचमा ल्याउन आबश्यक जनचेतना अभिबृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै अस्पतालका निमिक्त प्रमुख डाक्टर विराट शर्माले रोग पहिचान संगै बिचैमा औषधी सेवन गर्न छाड्ने समस्याले क्षयरोगको निदानमा समस्या थपिएको बताउनुभयो । उहाँले कार्यालयले क्षय रोगको बारेमा जनचेतना फैलाउनको लागि विभिन्न ठाउँमा घुम्ति शिविरहरु समेत आयोजना गरिँदै आईएको जानकारी गराउँदै स्वास्थ्यकर्मीको सुझाब अनुसार पिडितहरुले औषधी सेवन गरेमा थप रोग फैलनबाट रोक्न सकिनेमा जोड दिनुभयो ।