राम्चेमा परिवार नियोजन सम्बन्धि छलफल

  • १० चैत्र २०७४, शनिबार
  • 1877 पटक पढिएको

म्याग्दी, १० चैत । म्याग्दीको अन्नपूर्ण गाउँपािलका–८ राम्चेमा राम्चे स्वास्थ्य चौकी व्यवस्थापन समिति र महिला स्वास्थ्य स्वयमसेविका बीच परिवार नियोजनस कार्यक्रमम्बन्धि पुनरावलोकन तथा समिक्षा वैठक सम्पन्न भएको छ । सिफोटु परियोजनाले यसअघि राम्चे क्षेत्रमा सञ्चालन गरेको कार्यक्रमकाबारे वैठकमा समिक्षा गरिएको हो । राम्चे स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य एवँ वडा सदस्य यामबहादुर पुर्जाको सभापतित्वमा भएको कार्यक्रममा सिफोटु परियोजनाका जिल्ला प्रबन्धक डा. मिलन सिग्देलले सन्तान करले नभइ रहरले जन्माउनुपर्ने भन्दै अनिच्छुक गर्भलाई रोक्न परिवार नियोजनका साधनको प्रयोगको दर बढाउनुपर्नेमा जोड दिए ।

सुशी परिवार बनाउनका लागि विभिन्न किसिमका स्थायी तथा अस्थायी परिवार नियोजनका साधनहरु रहेको भन्दै त्यसको प्रभावकारी प्रयोगका लागि महिला स्वयम्सेविकाहरुको भूमिका विशेष हुने उनले बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन सुभरभाईजर नारायण रेग्मीले परिवार नियोजनबारे सर्वसाधारणमा रहेका गलत धारणालाई चिर्न आवश्यक रहेको भन्दै यस विषयमा खुल्ला बहस हुनुपर्ने बताए । स्वास्थ्य कार्यालय जिल्लाका विभिन्न स्थानमा परिवार नियोजनसम्बन्धि शिविरहरु सञ्चालन गरिरहेको उनले बताए । स्वास्थ्य संस्थाहरुबाट कण्डम, पिल्स, इम्प्लान्ट, डिपो, आयुसिडी जस्ता साधनहरु निशुल्क रुपमा उपलब्ध हुन्छ ।

सिफोटुले परिवार नियोजनका साधनको प्रभावकारी प्रयोग मार्फत सुरक्षित गर्भपतनका साथै स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका लागि जिल्लामा कार्य गर्दै आएको जनाएको छ । कार्यक्रममा राम्चेका अगुवा एवँ स्वास्थ्य व्यवस्थापन समितिका सल्लाहकार फसबहादुर पुनले स्थायी परिवार नियोजनका साधनको प्रयोगले स्वास्थ्यमा समस्या देखिन्छ भन्ने भ्रमलाई हटाउन आवश्यक रहेको सुझाब दिएका थिए । साविक राम्चे गाविसका महिला स्वयमसेवकहरुले स्याथी साधन अपनाउने सँख्या कम भएको र बच्चा जन्माउने अनुपात पनि कमै रहेको जानकारी दिएका थिए ।

उनीहरुले गाउँघर क्लिनिक मार्फत समेत पाँच प्रकारका साधनहरु प्रवाहको व्यवस्था मिलाउन जिल्ला स्वास्थ्यलाई आग्रह गरेका थिए । शुक्रबार सम्पन्न कार्यक्रममा सिफोटुका सन्ध्याकुसुम शर्मा र प्रमिला बुढाथोकीले कार्यक्रमका बारेमा जानकारी गराएका थिइन् भने कार्यक्रमका सञ्चालन राम्चे स्वास्थ्यचौकीका प्रमुख चाँदनी घलेले गरेकी थिइन् ।