साँसद र स्थानीयको पहलमा इपिएस परिक्षाको शुल्क बुझाउन रातभर जाग्राम बस्न नपर्ने ! ( फोटो कथा)

  • ७ चैत्र २०७४, बुधबार
  • 3126 पटक पढिएको

म्याग्दी, ७ चैत । कोरियाली भाषा परिक्षा (इपिएस)को आवेदन फाराम शुल्क बुझाउनको लागि बुधवार साँझदेखि बेनी लाईनमा बसेका सर्वसाधारणलाई रातभर जाग्राम बस्न नपर्ने गरि व्यवस्थापन गरिएको छ । विहिवारदेखि सुरु हुने फाराम शुल्क बुझाउनको लागि आज साँझदेखि नै बेनीको न्युरोड स्थित ग्लोबल आईएमई बैँक परिसरमा सयौँको संख्यामा युवायुवतीहरुको भिड लागेको थियो ।


सडकमै युवायुवतीहरुको भिडभाड हुन थालेपछि सम्भावित जोखिम र समस्यालाई मध्यनजर गर्दै प्रदेश साँसद विनोद केसीको संयोजकत्वमा स्थानीयबासी र सरोकारवालाहरुको आकम्मीक छलफलबाट फारामको शुल्क बुझाउन लाईनमा बसेकाहरुको नामदर्ता गरि उनीहरुलाई घर पठाईएको छ । विहिवारदेखि फारामको शुल्क बुझाउन सुरु हुने भएकाले आजै नामदर्ता भएकाहरुको क्रम संख्या अनुसार नै फारामको पैसा बुझाउने गरि व्यवस्थापन गरिएको छ ।


आज राती ९ः४५ बजेसम्म नाम दर्ता हुन भएका ३१० जनालाई विहिवार विहान बैँक खुलेपछि क्रमसंख्याको आधारमा फाराम शुल्क बुझाउने दिने र यसपछि आउनेहरुलाई पुनः छुट्टै लाईनमा राखेर नामदर्ता मार्फत पालैपालो फाराम शुल्क बुझाउन दिने व्यवस्था गर्ने निर्णय भएको छ । ३१० क्रमसंख्या भन्दा पछाडी आउने आवेदकहरुलाई ३१० पश्चात मात्र लाईनमा बसीदिनुहुन स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन, बैँक प्रशासन, र स्थानीय सरोकारवालाहरुको रोहोवरमा सुचना समेत टाँस गरिएको छ ।

हातमा काखे बालबालिका राखेर समेत इपिएस फाराम भर्न सडकमा रातभर लाइन बस्न थालेपछि फाराम शुल्क बुझाउने कार्यलाई व्यवस्थित र सहज बनाउन स्थानीय प्रशासन र सरोकारवालाको पहलमा उक्त निर्णय गरिएको प्रदेश साँसद केसीले बताउनुभयो ।


प्रदेश साँसद केसी, प्रहरी नायब निरिक्षक टेकनारायण चपाई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कुमार विश्वकर्मा, म्याग्दी उद्योग बाणिज्य संघका महासचिब लिलाराम गौतम, म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्मा, स्थानीयबासी गणेश बरुवाल, गजेन्द्र केसी, बिजुन खत्री, सुजन बरुवाल लगायतको सक्रियतामा छलफल गरि फाराम शुल्क बुझाउन रातभरी जाग्राम बसेकाहरुलाई क्रम संख्याको आधारमा बुझाउन पाउने व्यवस्था गरि घर फर्काएको छ ।

रातमा सडकमै बस्ने गरि युवायुवतीहरु लाईनमा बसेका थिए । शुल्क बुझाउने पालोको लागि एक दिन अगाडी देखि नै बेनी स्थित ग्लोबल आईएमई बैँक अगाडी लाईन सुरु भएपछि झण्डै ५ सय बढीको भिडभाड थियो । धेरै व्यक्तिहरुको जमघट भएपछि प्रहरीलाई व्यवस्थापन र यातयात आवत जावतको व्यवस्था मिलाउँदै हम्मे हम्मे पर्न थालेको छ ।

श्रम मन्त्रालय र बैदेशिक रोजगार विभागको सहकार्यमा ईपिएस भाषा परिक्षाको सेवा शुल्क ग्लोबल आईएमई बैँकबाट मात्रै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यस क्षेत्रबाट फाराम सेवा शुल्क बुझाउने १२ हजारले मात्रै पोखराबाट परिक्षा दिन पाउने र बाँकी काठमाण्डौ जानुपर्ने भएकाले पनि ईपिएस भाषा परिक्षा दिन लागेकाहरुबिच होडबाजी चलेको हो ।

पोखरा लगायतका क्षेत्रमा रहेका बैँकहरुमा लाईनको भिड लागेपछि त्यस क्षेत्रका युवायुवतीहरु समेत बेनी आएको बताईउको छ । आकर्षक आम्दानी हुने मुलुकको रुपमा चिनीएको कोरियामा रोजगारिको लागि जान अनिबार्य सर्तको रुपमा रहेको भाषा परिक्षामा सामेल हुनको लागि विहिवारदेखि १० दिनसम्म फाराम सेवा शुल्क बुझाउने म्याद तोकिएको छ । प्रतिव्यत्ति रु २४ डलर बुझाएर बैँकबाट कोर्ड लिएपछि मात्रै भाषा परिषाको फाराम भर्न सकिने व्यवस्था रहेको छ ।