दोबा स्वास्थ्य चौकीलाई युके र कोरियाबाट रु ४ लाख बराबरको सहयोग

  • ६ चैत्र २०७४, मंगलवार
  • 3122 पटक पढिएको

म्याग्दी, ६ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा रहेको स्वास्थ्य चौकीलाई प्रवासमा रहेका दोबाबासीहरुले रु ४ लाख बराबरको सहयोग जुटाएका छन् । स्वास्थ्य चौकीलाई आबश्यक पर्ने सामाग्री खरिदको लागि युके र कोरियामा रहेका स्थानीयबासीले नगद सहित सामाग्री उपलब्ध गराएका हुन् । बेलायतमा रहेका दोबासीहरुको संस्था दोबा समाज युकेले स्वास्थ्य चौकीको लागि नगद रु १ लाख ५० हजार उपलब्ध गराएको छ ।


युकेमा रहेका ओम बहादुर पुन र समाजका अध्यक्ष ललित गर्वुजाको पहलमा त्यहाँ रहेका दोबाबासीबाट उक्त सहयोग जुटाएर उपलब्ध गराईएको हो । त्यसैगरि स्वास्थ्य चौकीलाई युेकेमै रहनुभएका दोबाका भिमबहादुर गर्वुजाको परिवारले रु १ लाख ५० हजार सहयोग गर्नुभएको छ । स्वर्गीय बाबा पञ्जु गर्वुजा र आमा तुलसी गर्वुजाको स्मृतिमा गर्वुजाको परिवारले स्वास्थ्य चौकीमा सोलार जडान र अक्सिजन उपकरण खदिरको लागि उक्त सहयोग गरेको स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट झपेन्द्र घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार, गर्वुजाको परिवारबाट प्राप्त सहयोगले १ थान अक्सिजन उपकरण खरिद गरिसकिएको छ । त्यसैगरि, युकेमा रहनुभएका दोबाका ओमबहादुर पुनले रु २६ हजार बराबरको औषधी र उपकरण भण्डारण गर्ने रेफ्रिजेरेटर सहयोग गर्नुभएको छ । त्यसैगरि भिमबहादुर चोचाङ्गीबाट रु २५ हजारको विरामी उपचार गर्ने बेड, आसा पुर्जाबाट कानको उपचारमा प्रयोग हुने एक थान मेसिन सहयोग प्राप्त भएको स्वास्थ्य चौकीका प्मुख घिमिरेले जानकारी दिनुभयो ।

त्यसैगरि कोरियामा रहेका दोबाबासीहरुको संस्था दोबा समाज कोरियाबाट एक थान प्रिन्टर मेसिन र नेबुलाईजर मेसिन किन्नको लागि रु ४० हजार सहयोग उपलब्ध भएको छ । समाजका अध्यक्ष याद गर्वुजाको पहलमा उक्त सहयोग जुटेको हो । २०७२ सालमा उप–स्वास्थ्य चौकीबाट स्वास्थ्य चौकीमा स्तरोन्नती भएको यस स्वास्थ्य संस्थाले २४ सै घन्टा आकस्मिक उपचार सेवा सुरु गर्ने तयारी गरेको छ ।
ग्रामीण भेगमा रहेको यस स्वास्थ्य चौकीबाट स्थानीयबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि टेलिमेडिसिन सेवा समेत थप गर्ने योजना रहेको वडा अध्यक्ष समेत रहेका स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रेशम गर्वुजाले बताउनुभयो ।

स्वास्थ्य चौकीले सुरक्षित प्रसुती सेवा उपलब्ध गराउनको लागि बर्थिङ सेन्टर सञ्चालनमा ल्याउनका लागि समेत आबश्यक पहल थालेको छ । यसैबिच स्वास्थ्य चौकीबाट नियमित रुपमा प्रवाह हुने सेवा गुणस्तरीय बन्दै गएपछि स्थानीयबासी खुसी भएका छन् । स्वास्थ्य चौकीका प्रमुख घिमिरे स्वास्थ्य चौकीमा आएपछि समुदायको सहयोगमा सरकारी स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउन थालेपछि सामान्य विरामी हुँदा समेत सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । धेरैजसो रोगहरुको उपचार गाउँमै सम्भव हुन थालेपछि स्थानीयबासी खुसी भएका छन् ।