स्तरोन्नतीका लागि बेनी–दरवाङको बैकल्पीक सडक प्रयोगमा ल्याईने

  • ५ चैत्र २०७४, सोमबार
  • 2096 पटक पढिएको

म्याग्दी ५ चैत । म्याग्दीको बेनी–दरवाङ सडक स्तारोन्नतीका लागि बेनी देखि चुत्रेनी खण्डमा बैकल्पीक सडकलाई प्रयोगमा ल्याइने भएको छ । दिउँसोको समयमा सवारी सञ्चालनसंगै सडक फराकीलो बनाउने काम गर्दा जोखिम र काम प्रभावीत बनेपछि सवारी रोकेर काम गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले सडक डिभिजन कार्यालय, यातायात ब्यवसायी, निर्माण कम्पनी र सरोकारवालाहरुको सोमबार बसेको बैठकले मंगलबारदेखिनै बेनी देखि चुत्रेनी खण्डको सडक दिउँसोमा बन्द गरेर निर्माणको काम गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

हाल प्रयोग भैरहेको सडक दिउँसोको समयमा बन्द गरेर मंगलाघाट, डम्मरा हुदै चुत्रेनी जोड्ने बैकल्पीक सडकबाट बेनी दरवाङ सडकमा आवत जावत गर्ने सवारी साधनलाई सूचारु गराइने प्रजिअ अधिकारीले बताउनुभयो । बैकल्पीक सडक मर्मत सम्भार गरेर सञ्चालन गरीने उहाँले बताउनुभयो । मंगला, मालीका र धौलागिरी गाउँपालीकालाई सदरमुकाम बेनीसंग जोड्ने बेनी–दरवाङ सडक कालोपत्रेका लागि सञ्चालीत आयोजनाको काम सुस्त बनेपछि निर्माण ब्यवसायीको माग अनुसार सवारी रोकेर काम गर्ने वातावरण मिलाइएको हो ।
१४ किलोमिटर सडक स्तारोन्नती गरी कालोपत्रे गर्न गत साउनमा सडक डिभिजन कार्यालय बागलुङ र लामा समानान्तर जेभीबीच करिब ४४ करोड रुपैयामा ठेक्का सम्झौता भएको थियो । हालसम्म प्राबिधिक, व्यवस्थापकीय र निर्माण सामाग्री जुटाउन तयारी गरेको बताउँदै निर्माण कम्पनीका ईञ्जिनियर सुधन राउतले मजदुर र उपकरणको संख्या बढाएर कामलाई तिब्रता दिन लागिएको बताउनुभयो ।

सवारी आवत जावत बन्द गरेर काम गर्दा सजिलो र छिटो हुने उहाँको भनाई छ । पहिलो चरणमा सडक फराकीलो बनाउने, रिनेटीङ र ग्यावीयन पर्खाल लगाउने काम सुरु गरेको भएको छ । सडक डिभिजन कार्यालय बागलुङका ईञ्जिनियर थानेश्वर खत्रीले सवारी आवत जावत बन्द गरेर काम गर्दा आयोजनाले तिब्रता पाउने र समयमै सम्पन्न हुने बताउनुभयो ।

एघार मिटर फराकीलो हुने सडकको सात मिटर चौडाईमा कालोपत्रे गरिने भएको छ । पहिलो चरणमा बेनी देखि बाबियाचौर सम्मको सडक कालोपत्रे हुनेछ भने त्यहाँदेखि दरवाङ सम्मको कालोपत्रेको लागि अर्को प्याकेजमा काम गर्ने डिभिजनको तयारी छ । सडक कालोपत्रे भएपछि हाल साढे दुई घण्टा लाग्ने यात्रा अवधि छोटीएर तिस मिनेटमा पुरा गर्न सकिनेछ । सवारी र ढुवानी भाडा घट्नेछ । म्याग्दीका साथै बागलुङको तमानखोला, रुकुम र डोल्पाका बासिन्दा पनी लाभान्वित हुने जनाइएको छ ।