म्याग्दीमा तीन हजार बढी लघुउद्यमी तयार !

  • ५ चैत्र २०७४, सोमबार
  • 3183 पटक पढिएको

म्याग्दी, ५ चैत । म्याग्दीमा तीन हजार बढी लघु उद्यमी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सन २००४ देखि जिल्लामा सञ्चालनमा आएको लघुउद्यम विकास कार्यक्रम र गरिबि निवारणको लागि लघुउद्यम विकास कार्यक्रम मार्फत ३ हजार ३७ जना लघुउद्यमी तयार भएका हुन् । सन २००४ देखि १४ सम्म सञ्चालीत लघुउद्यम विकास र २०१४ देखि २०१८ सम्म सञ्चालनमा रहेको गरिवी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम मार्फत म्याग्दीमा चौध वर्षको अवधिमा ३ हजार ३७ जना लघुउद्यमी तयार भएको कार्यक्रमका बजार बिशेषज्ञ रजनी थापाले जानकारी दिनुभयो ।

जिल्लामा सञ्चालनमा रहेको लघु उद्यम विकास कार्यक्रम (मेडेप) बर्हिगमन हुन लागेको पूर्व सन्ध्यामा कार्यक्रम मार्फत उत्पादन भएका लघु उद्यमीहरुको तथ्याङ्क जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग विकास समिति र स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । मेडेपको सहयोगमा घरेलु तथा साना उद्योग विकास समितिले सोमबार बेनीमा आयोजना गरेको लघुउद्यमीहरुको तथ्याङ्क हस्तान्तरण कार्यक्रममा कार्यक्रम मार्फत विभिन्न शिपविकास र तालिम मार्फत लघु उद्यमीको रुपमा तयार भएकाहरुको तथ्याङ्क हस्तान्तरण गरिएको थियो ।

सो अवधिमा जिल्लामा २ हजार ५०० जना महिला र ५३७ जना पुरुष लघु उद्यमी तयार भएका थिए । यो बर्षभित्रमा समेत थप २०० जना नयाँ उद्यमी बनाउने र ३३७ जना पुराना उद्यमीलाई थप क्षमता विकास गरि कार्यक्रम सञ्चालन भैरहेको छ । कार्यक्रम मार्फत जिल्लामा लघु उद्यमीहरुले उत्पादन गरेका उपजहरुको भण्डारण र बजारीकरणको लागि १३ वटा साझा सुविधा केन्द्रमा भवन लगायतका पूर्वाधार निर्माण गरिएको बजार विशेषज्ञ थापाले जानकारी दिनुभयो । गैर सरकारी संस्था मार्फत सञ्चालन हुदै आएको यस कार्यक्रमले स्थानीय स्रोत, साधन, सिप र प्रबिधिको उपयोग गरि लघु उद्यमशिलाताको क्षत्रमा काम गर्दै आएको थियो ।

उहाँका अनुसार कार्यक्रम मार्फत सिस्नोको पाउडर उत्पादन गर्ने, उनी, अल्लो र ढाका प्रसोधन तथा बुनाई उद्योग, नेपाली हाते कागज उद्योग लगायतको क्षेत्रसंगै अन्नपूर्ण–धौलागिरि सामुदायीक पदमार्गमा पर्ने नागी, मोहरे, टिकोट, खिवाङमा सामुदायिक लजको पूर्वाधार निर्माणमा समेत सहयोग गरिएकोे थियो । स्थानीय लघु उद्यमी समुह संघ ६ वटा , ३५३ वटा उद्यमी समुह रहेको म्याग्दीमा एक वटा जिल्ला लघु उद्यमी समुह संघ समेत गठन भएका छन् ।

कार्यक्रममा बोल्ने सरोकारवालाहरुले विभिन्न समयमा तालिम र शिप विकास मार्फत तयार भएका लघु उद्यमीहरुलाई क्रियाशिल बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले उद्यमी तयार हुनु सकरात्मक भएपनि अधिकाँश निस्क्रिय भएको हुँदा उनीहरुलाई उद्यमशिलतामा सक्रिय गराउन आबश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रमाम बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, रघुगंगा गाउँपालीकाका अध्यक्ष भबबहादुर भण्डारी र धौलागिरि गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले स्थानीय स्रोत साधन परिचालन गरि आयआर्जनको अवसर सिर्जनाका लागि लघुउद्यम विकास कार्यक्रमको अवधारणा अनुसार स्थानीय तहले कार्यक्रम तय गर्नेमा जोड दिएका थिए ।

जिसस प्रमुख केसीको अध्यक्षता, घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख शिव शंकर झाको स्वागत र लेखापाल निलबहादुर भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले जिल्लामा स्थानीय तह अनुसारको लघु उद्यमीहरुको तथ्याङ्क तयार गरि उनीहरुलाई सक्रिय बनाउने कार्यक्रम आबश्यक रहेकोमा जोड दिनुभयो ।