राममन्दिरमा रामनवमी महा महोत्सव सुरु

  • ४ चैत्र २०७४, आईतवार
  • 1961 पटक पढिएको

म्याग्दी ४ चैत । जलजला गाउँपालीका २ मा रहेको राममन्दीरमा आईतबार देखि श्रीमद भागवत रामनवमी महा महोत्सव तथा रामलिला, कृष्णलिला महायज्ञ सुरु भएको छ । राष्ट्रिय परोपकार महासंघ र राममन्दिर सेवा आश्रमको आयोजनामा चैत १२ गतेसम्म सञ्चालन हुने महायज्ञको जलजला गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्लले उद्घाटन गर्नुभयो । सो क्रममा अध्यक्ष मल्लले गाउँपालीकामा रहेका धार्मीक, पर्यटकीय स्थलहरुको संरक्षण, प्रर्वद्धनमा जोड दिइएको बताउनुभयो ।

पण्डीत कमलनयन गौतमले भागवत बाचन गर्नुहुने महायज्ञमा अयोध्या, मथुरा, बृन्दावनबाट आउने अभिनय टोलीले प्रस्तुत गर्ने भगवानका दिब्य रामलिला र कृष्ण लिलाका झाँकीहरु बिशेष आकर्षण रहने भएको छ । राममन्दिरको धार्मीक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले रामनवमी पर्वको अवसरमा महोत्सवको आयोजना गरिएको आश्रमका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।

कालञ्जर पर्वतको फेदी, राहुघाट र कालीगण्डकी नदीको संगम तथा मुक्ति क्षेत्र प्रवेशद्धार गलेश्वरको नजिकै रहेको राममन्दिरको पूर्वाधार निर्माणसंगै प्रचारप्रसार गरी धार्मीक पर्यटक भित्र्याउन पहल गरिएको आश्रमका सचिव चित्रराज रेग्मीले बताउनुभयो ।

धौलागिरी हिमालको फेदी र रिखार क्षेत्रबाट बगेर आउने राहुघाट तथा मुक्तिनाथबाट आउने कालीगण्डकी नदीको संगम, विभिन्न धर्मशास्त्रमा उल्लेखीत कालञ्जर पर्वतको फेदी, मुक्तिक्षेत्रको प्रवेशद्धार गलेश्वर नजिक रहेको तथा परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेको स्थल भएकाले राममन्दिरको प्रशस्त धार्मीक महत्व रहेको छ ।