जलजलामा लघुउद्यम विकास रणनिती तयार पारिदै

  • ४ चैत्र २०७४, आईतवार
  • 1888 पटक पढिएको

बेनी ४ चैत । पर्वतकाे  जलजला गाउँपालीकाले लघुउद्यम विकास रणनिती बनाउने भएको छ । स्थानीय स्तरमा उपलब्ध स्रोत, साधन, सिप र प्रबिधिको प्रयोग गरी स्थानीयबासीलाई उद्यम ब्यवसायमा सहभागी बनाई आयस्तर सुधार गर्ने उद्देश्यले पञ्चवर्षिय रणनिती तयार पार्न लागीएको गाउँपालीकाले जनाएको छ ।

लघुउद्यम विकास कार्यक्रम, उद्योग मन्त्रालय र युनएनडिपीको सहयोगमा रणनिती बनाउन सम्भाव्यता अध्ययका लागि छलफल सुरु गरीएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो । जसका लागि आईतबार गाउपालीकाको कार्यालय मल्लाजमा स्थानीय तहको योजना प्रक्रियामा लघु उद्यम विकास कार्यक्रम मुल प्रवाहीकरण सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्लको अध्यक्षता, जिसस प्रमुख मनोहर बि पौडेलको प्रमुख आतिथ्यता, ३ नम्बर वडाका अध्यक्ष रवी भण्डारीको स्वागत र नायव सुब्बा भिम आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधी र लघुउद्यमीहरुको उपस्थिती रहेको थियो ।
जलजलाको शालीजा र लेकफाँटमा अल्लो कपडा, धाईरीङ नाग्लीवाङमा तरकारी, बाँसखर्कमा सुन्तला खेतीमा आधारीत लघुउद्यमको सम्भावना रहेको छ । आगामी चैत महिनाभित्र गाउँपालीकाका ९ वटै वडाको सम्भावना पहिचान गरि रणनिती तयार पार्ने निर्णय भएको छ ।