बेनीमा नेपालमै पहिलोपटक योग दर्शन मन्थन हुने

  • ४ चैत्र २०७४, आईतवार
  • 1639 पटक पढिएको

म्याग्दी, ४ चैत । योग आश्रम निर्माणमा सहयोग जुटाउने उद्देश्यले बेनीमा नेपालमै पहिलो पटक ‘महर्षि पतञ्जलीकृत योग दर्शनमा मन्थन’ विषयक प्रशिक्षक प्रशिक्षण आयोजना हुने भएको छ । नवीन आनन्द योग केन्द्र नेपाल, बेनी म्याग्दीको आयोजनामा आगामी चैत १८ गतेदेखि उक्त प्रशिक्षण कोर्ष सुरु हुन लागेको हो ।


त्यसका लागि भारतका चर्चित योगगुरु परमशिष्य सन्त शुभ साहेब बेनी आउने कार्यक्रम तय भएको केन्द्रका अध्यक्ष योग गुरु नविन जुग्जालीले जानकारी दिए । उनका अनुसार, कार्यक्रमलाई भव्य र दक्ष प्रशिक्षक उत्पादनतर्फ केन्द्रीत गरिनेछ । ‘हामीले जिल्लामा योग आश्रम निर्माणको योजना बनाएका छौँ ।

त्यसका लागि जग्गा प्राप्तिको काम पनि भइसकेको छ’, योगगुरु जुग्जालीले भने, ‘उक्त कार्यक्रमबाट संकलन रकम भारतबाट आउने गुरुलाई पनि हुदैन । सबै हाम्रो संस्थामा रहन्छ, त्यो रकम आश्रम निर्माणमा खर्च गर्नेछौँ ।’ अहिले बेनीमा १ सय भन्दा बढी योगसाधकहरुले नियमित योग गरिरहेका छन् । आश्रमको अभावमा उनीहरु कहिले चलचित्र हल त कहिले निर्माण व्यवसायीका हल भाडा लिएर योग गर्दै आएका छन् । उक्त प्रशिक्षण कोर्षबाट दक्ष प्रशिक्षकहरु समेत जिल्लामा थपिने र योग अभियान बुद्धि हुने केन्द्रका सचिब सुरेन्द्रराज शर्माले जानकारी दिए ।