बेनी अस्पतालको उपचार कक्ष भवन निर्माण

  • २ चैत्र २०७४, शुक्रबार
  • 2529 पटक पढिएको

बेनी २ चैत । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा करिब एक करोड रुपैयाको लागतमा २६ शैया क्षमत्ताको उपचार कक्ष भवन निर्माण भएको छ । स्वास्थ्य मन्त्रालय र अस्पताल विकास समितिको ८७ लाख रुपैयाको लागतमा अन्तरंग बिभागको भवन निर्माण भएको हो । पचास शैया क्षमत्ताको नयाँ भवन निर्माणका लागि अस्पतालको अन्तरंग बिभागको पुरानो भवन भत्काइएको थियो ।

अस्पतालको सेवालाई सहज रुपमा सूचारु गर्नका लागि बैकल्पीक भवन निर्माण गरिएको विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । करिब छ महिनादेखि जनस्वास्थ्य कार्यालयको भुईतलाबाट सञ्चालन हुदै आएको अन्तरंग बिभागलाई शुक्रबारदेखि नयाँ भवनमा स्थानान्तरण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको ७३ लाख र अस्पतालको १४ लाख रुपैयाको लगानीमा निर्माण भएको एकएक तले पक्कि भवनमा २६ वटा शैया रहेको छ । अन्तरंग, शल्यक्रिया, प्रसुती, गर्भपतन, सुत्केरी र शल्यक्रिया गरेका बिरामीका लागि छुट्टा छुट्टै कोठामा शैयाको व्यवस्था गरिएको अस्पतालका निमित्त प्रमुख डाक्टर बिराट शर्माले बताउनुभयो ।

नयाँ भवन बनेपछि काम गर्न सजिलो र बिरामीलाई सहज रुपमा उपचार सेवा दिन सकिने डाक्टर शर्माले बताउनुभयो । भवनको अस्पताल विकास समितिका अध्यक्ष रेग्मीले उद्घाटन गर्नुभएको थियो ।डाक्टर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लिलानाथ पौडेलले गर्नुभएको थियो । सो अवसरमा बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो । बेनी अस्पतालमा गत मंसिरदेखि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङ मार्फत १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयाको लागतमा पचास शैया क्षमत्ताको भवन निर्माण कार्य सुरु भएको थियो ।