चौरखानीमा निर्मित सामुदायिक भवनको उद्घाटन

  • २९ फाल्गुन २०७४, मंगलवार
  • 2190 पटक पढिएको

म्याग्दी, २९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगलेस्थित चौरखानीमा सामुदायिक भवन निर्माण भएको छ । सामाजिक कार्य र सभा सम्मेलनका लागि गाउँपालिका, आमा समूह, प्रवासमा रहेका चौरेलीहरुको एकमुष्ट १० लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो । भवन निर्माणपछि गाउँमा विबाह, बत्रबन्ध, पूख्र्यौली नृत्य जस्ता सामाजिक कार्यक्रमका साथै सभा सम्मेलनका लागि समेत सहज हुने सामाजिकसेवी एवँ रघुगंगा प्राविका प्रधानाध्यापक चन्द्रमान छन्त्यालले जानकारी दिए ।


उक्त भवनमा एक समारोहका बीच रघुगंगा गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले उद्घाटन गरेका छन् । भवन उद्घाटन गर्दे अध्यक्ष भण्डारीले दुर्गम क्षेत्रको सामाजिक विकास र पूर्वाधारको क्षेत्रमा गाउँपालिकाले लगानी बढाउने बताए । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घरब्जा छन्त्यालको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष भण्डारीसँगै वडा नम्बर ८ वडाअध्यक्ष गमान छन्त्यालले जन्मभूमिमा सामुदायिक भवन निर्माणमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।


कार्यक्रममा वडा सचिब हिराबहादुर खत्री, प्राविधिक कमल चोखाल, वडा ७ चिमखोलाका वडा सचिब भोलानाथ आचार्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा रघुगंगा प्राविका प्रअ एवँ भवन निर्माण समितिका आर्थिक संयोजक चन्द्रमान छन्त्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै अपुग रकम स्थानीय तथा प्रवासमा रहेका गाउँलेहरुबाट संकलनको योजना बनाईएको बताए । प्रगतिशील आमा समूहकी सचिब चनकुमार छन्त्यालले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका रसकुमार छन्त्यालले गरेकी थिइन् ।