नौ महिनामा बेनपाको बाईस प्रतिशत योजना सम्पन्न

  • २८ फाल्गुन २०७४, सोमबार
  • 1823 पटक पढिएको

बेनी २८ फागुन । बेनी नगरपालीकाले चालु आर्थिक वर्ष २०७४७५ मा बजेट बिनियोजन गरेका मध्य करिब नौ महिनाको अवधिमा बाईस प्रतिशत मात्र भौतिक पूर्वाधार योजनाको काम सम्पन्न भएको छ । बेनीमा सोमबार भएको दोस्रो नगरसभामा उपप्रमुख सञ्जु बरुवालले २५० वटा पूर्वाधार योजनाका लागि बजेट बिनियोजन भएकोमा आईतबार सम्म २२३ वटाको सर्वेक्षण, २१४ वटा सम्झौता र ५७ वटा सम्पन्न भएको जानकारी गराउनुभयो ।

३७१ वटा योजना तथा कार्यक्रम सञ्चालन गर्नका लागि पुजीगततर्फ १४ करोड ८१ लाख ११ हजार रुपैया बजेट बिनियोजन भएकोमा दुई करोड ३३ लाख ८३ हजार रुपैया खर्च भएको छ । तिन वटा पूर्वाधार योजना कार्यान्वयनका लागि ठेक्का सम्झौता भएको छ भने प्रर्वद्धनात्मक तर्फका कार्यक्रमहरु न्युन मात्रामा कार्यान्वयन भएका छन् ।

उपप्रमुख बरुवालका अनुसार एक करोड ५० लाख रुपैया आन्तरीक आम्दानी गर्ने लक्ष्य रहेकोमा ६१ लाख ४० हजार आय संकलन भएको छ । कुल ३७ करोड ७८ लाख ८६ हजार रुपैया बजेट बिनियोजन गरेको नगरपालीकाको शशर्त अनुदानतर्फको १७ करोड ८० लाख ८६ हजार मध्य १२ करोड ८८ लाख ६८ हजार रुपैया खर्च भएको छ । चालुतर्फ बिनियोजित चार करोड पचास लाख रुपैया मध्य एक करोड ३० लाख ५० हजार रुपैया खर्च भएको छ । नगरसभामा चालु आर्थिक वर्षमा सञ्चालीत योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्थाको विषयमा जनप्रतिनिधिहरुबीच समिक्षा भएको थियो ।

वडा अध्यक्ष, कार्यपालीका सदस्य र गाउँसभाका सदस्यहरुले नगरपालीकाका प्रशासनीक नेतृत्वको कार्यशैलीका कारण विकास योजना तथा कार्यक्रम कार्यान्वयन र सेवा प्रवाहमा ढिलासुस्ती भएको भन्दै आक्रोस व्यक्त गरेका छन् । नगर प्रमुख हरिकुमार श्रेष्ठले गत असारमा भएको पहिलो नगरसभाले पारित गरेको बजेट, निती तथा कार्यक्रम कार्यान्वयनमा जुटेको जनाउँदै आवश्यकता अनुसारका कर्मचारीको अभाव मुख्य चुनौतीको रुपमा रहेको बताउनुभयो । उहाँले उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनालाई पारदर्शी र गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न सचेत रहेको बताउनुभयो ।

दश वटै वडा कार्यालयदेखि बेनी जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि सडक स्तरउन्नतीका योजनालाई प्राथमिकता दिइएको बताउदै नगरप्रमुख श्रेष्ठले सबै नगरपालीकाको घरघरमा खानेपानी सुबिधा पु¥याउने खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयलाई पत्राचार गरिएको, काठका पोल विस्थापीत गर्न लागिएको बताउनुभयो । बेनी बजारको फोहोर स्थाई ठाउँ नबन्दासम्म अहिलेकै ठाउँमा व्यवस्थित गर्न लागिएको, हाँडेभिरमा बधशाला निर्माणको क्रममा रहेको, छाडा गाईबस्तुको व्यवस्थापनका लागि पहल भैरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार यसअघि पदाधीकारीको आचारसंहिता, नगर कार्यपालीका कार्यसम्पादन नियमावली, कार्यपालीका बैठक सञ्चालन, सम्पुरक कोष कार्यबिधी, निर्णय तथा आदेश प्रमाणीत नियमावली बनाइएको छ । संघीय सरकारले उपलब्ध गराएको नमुना कानुनलाई आधार मानेर स्थानीय परिवेश, समस्या र आवश्यकता अनुसारको कानुनहरु बनाइने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।