भगवती स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न गर्दै समुदायलाई हस्तान्तरण

  • २८ फाल्गुन २०७४, सोमबार
  • धिरन खत्री
  • 1958 पटक पढिएको

भगवती २८ फागुन । म्याग्दीको रघुगंगा गाउँपालीका २ भगवती स्थित स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको एक करोड ३८ लाख २० हजार ८४३ रुपैयाको लगानीमा दुई तले दश कोठे सुबिधासम्पन्न भवन निर्माण गरेको हो । भवनको भुई तलामा बिरामीको स्वास्थ्य परिक्षण, औषधी भण्डारण, प्रसुती, बिरामी उपचार स्थल, प्रशासनीक लगायतका कक्ष रहेका छन् ।

पहिलो तलामा दुई परिवारको आवास सुबिधाका लागि कोठा भनाइएको छ । ठेक्का मार्फत निर्माण सम्पन्न भएको भवन सोमबार एक समारोहका बीच स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । नानाहरी जेभीले ठेक्का पाएको भवन लक्ष्य भन्दा दुई महिनाअघि निर्माण सम्पन्न भएको हो । २०७३ कात्तिक २३ गते सूरु र २०७५ बैशाख सम्ममा सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायी कृष्णकुमार शेरचनले डिभिजन प्रमुख प्रकाश अर्याल मार्फत जिल्ला समन्वय समितिका प्रमुख समेत रहनुभएका भवन निर्माण समितिका अध्यक्ष देवेन्द्रबहादुर केसीलाई हस्तान्तरण गरेका हुन् ।

वडा अध्यक्ष रिमबहादुर कटुवालको अध्यक्षता, गाउँपालीकाका स्वास्थ्य संयोजक टिकाबहादुर शाहीको सञ्चालन, स्वास्थ्यकर्मी प्रदिपकुमार दासको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिसस प्रमुख केसी, जग्गादाता तथा गाउँपालीकाका अध्यक्ष भबहादुर भण्डारी, डिभिजन प्रमुख अर्याल, निर्माण व्यवसायी शेरचनले मन्तब्य राखेका थिए ।जिसस प्रमुख केसीले विकास निर्माणमा ढिलासुस्ती भैरहेको अवस्थामा भगवती स्वास्थ्य चौकी निर्धारीत मितीभन्दा अघिनै सम्पन्न भएर सकारात्मक सन्देश दिन सफल भएको बताए । गाउँपालीका अध्यक्ष भण्डारीले भवनमा फर्नीचर र उपकरणको व्यवस्था गरेर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने बताए ।

 


छड, सिमेन्ट लगायत निर्माण सामाग्रीको मूल्य वृद्धीका बावजुद पनि व्यवसायीले निरन्तर मजदुर परिचालन गरेको र समुदायले पनी सहयोग गरेकाले लक्ष्य अघिनै भवन बनाउन सफल भएको डिभिजन प्रमुख अर्यालले बताए ।सो भवन भुकम्प प्रतिरोधात्मक क्षमत्ताको हो । भवन निर्माणका लागि रघुगंगा गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारी र लोकबहादुर भण्डारीले चार रोपनी भन्दा बढी जग्गा खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराएका थिए ।

 

भवबहादुर भण्डारीले साढे छ लाख २५ हजारमा तिन रोपनी, लोकबहादुर भण्डारीले एक लाख ३० हजारमा एक रोपनी र स्वास्थ्य चौकीको एक लाख रुपैया लगानीमा जग्गा खरिद गरिएको थियो ।
जिर्ण अवस्थामा रहेको वडा कार्यालयको भवनको दुई वटा कोठाबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीलाई नयाँ भवन स्थानान्तरण गरिने वडा अध्यक्ष कटुवालले बताए । सो स्वास्थ्य चौकीबाट भगवतीका ८ सय घरधुरीका ४ हजार बासिन्दाले प्रत्यक्ष सेवा लिन पाउने छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l